मंगलवार, ४ चैत्र २०८१
460 views
460 views
काठमाडौं । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीसमक्ष काठमाडौं विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा अच्युतप्रसाद वाग्लेले आज पद तथा गोपनीयताको सपथ लिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित कार्यक्रममा उपकुलपति डा. वाग्लेले सपथ लिएका हुन् । कुलपति ओलीले विश्वविद्यालयको रिक्त उपकुलपति छनोटका लागि गठित खोज तथा सिफारिस समितिका संयोजक र सदस्यद्वयको सिफारिसमा परेका तीन मध्येबाट डा. वाग्लेलाई सो विश्वविद्यालयको ऐन, २०४८ को दफा १३ (४) बमोजिम सोमबार नियुक्त गरेका थिए ।
सपथग्रहण कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, शिक्षा मन्त्रालयका सचिव डा दीपक काफ्लेलगायत सहभागी थिए ।
सो अवसरमा प्रधानमन्त्री ओलीले उपकुलपति नियुक्तिमा हुन पुगेको ढिलाइको सन्दर्भसमेतलाई ध्यान दिएर आगामी दिनमा सजगताका साथ सम्बन्धित सबै पक्षको साझा विश्वविद्यालय कायम राख्ने गरी काम अघि बढाउन शुभकामना दिए ।
नवनियुक्त उपकुलपति प्रा डा वाग्ले यसअघि सो विश्वविद्यालयका कार्यवाहक उपकुलपति एवं रजिष्ट्रार थिए ।