६ चैत्र २०८१, बिहीबार
ताजा खबर

हिसान बागमती प्रदेश अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति चयन

नागरिक पोष्ट

बिहीबार, ६ चैत्र २०८१

324 views

324 views

हिसान बागमती प्रदेश अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति चयन

काठमाडौं । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (HISSAN) बागमती प्रदेशको दोस्रो अधिवेशन काठमाडौंको दुसित प्रिन्सेसमा सम्पन्न भएको छ । यस अधिवेशनमा प्रदेशभरका निजी तथा सामुदायिक विद्यालयका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो । अधिवेशनमा खेलकुदमन्त्री तेजुलाल चौधरी प्रमुख अतिथि रहनुभएको थियो ।


कार्यक्रमको प्रमुख आकर्षण तारकेश्वर हिसान नगर समितिलाई प्रदान गरिएको विशेष सम्मान रह्यो । शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यार्थीको समग्र विकास, तथा पाठ्यक्रमीय र सह–पाठ्यक्रमीय गतिविधिमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै हिसान बागमती प्रदेश समितिले तारकेश्वर हिसानलाई सम्मानपत्र प्रदान गरेको हो । सम्मानपत्र हस्तान्तरण गर्दै हिसान बागमती प्रदेशका अध्यक्ष भवानी प्रसाद पौडेलले तारकेश्वर हिसानले विद्यार्थी र शिक्षकहरूलाई प्रेरित गर्ने उच्च मापदण्ड स्थापित गरेको बताउनुभयो ।

साथै, उहाँले संस्थाले आगामी दिनमा शिक्षाको उज्ज्वल भविष्य निर्माणमा अझ बढी योगदान दिनुपर्नेमा जोड दिनुभयो । अधिवेशनले राजकुमार आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नवगठित कार्यसमितिले बागमती प्रदेशमा शैक्षिक क्षेत्रको सुधार, नीतिगत परिमार्जन, विद्यालयहरूको व्यवस्थापन सुदृढीकरण तथा शिक्षक–विद्यार्थीहरूको क्षमता अभिवृद्धिका लागि विशेष पहल गर्ने प्रतिबद्धता जनाएको छ ।

नयाँ नेतृत्वले शिक्षा क्षेत्रमा देखिएका चुनौती समाधान गर्न नीति निर्माण तहमा पहल गर्ने, डिजिटल शिक्षालाई प्रवद्र्धन गर्ने, तथा सामुदायिक र निजी विद्यालयबीचको सहकार्यलाई बलियो बनाउने योजना बनाएको छ । कार्यक्रममा हिसानका केन्द्रिय प्रतिनिधिहरू, शिक्षा क्षेत्रका विज्ञहरू तथा विद्यालयका प्रमुखहरूको पनि उपस्थिति थियो ।

अधिवेशनका प्रमुख अतिथि खेलकुदमन्त्री तेजुलाल चौधरीले शिक्षाको गुणस्तर अभिवृद्धिका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै खेलकुद र शिक्षाबीचको सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले शिक्षामा खेलकुदको भूमिकालाई बढावा दिन आवश्यक नीति निर्माण गरिने बताउँदै विद्यालय तहदेखि नै विद्यार्थीहरूलाई शारीरिक, मानसिक र बौद्धिक विकासका अवसरहरू उपलब्ध गराउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

सहभागीहरूले नेपालको शैक्षिक क्षेत्रलाई अझ सुदृढ बनाउन नीति सुधार, शिक्षालयहरूको प्रवद्र्धन र गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने विषयमा छलफल गरेका थिए । यस अधिवेशनले शिक्षा क्षेत्रका विविध विषयहरूमा छलफल गर्दै आगामी रणनीति तय गरेको छ । निजी तथा सामुदायिक विद्यालयहरूबीचको सहकार्य, पाठ्यक्रम सुधार, शिक्षकहरूको तालिम तथा विद्यार्थीहरूका लागि प्रविधिमैत्री शिक्षा प्रणाली विकासजस्ता महत्वपूर्ण एजेन्डामा कार्यसमिति प्रतिबद्ध रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?