९ फाल्गुन २०८१, शुक्रबार
ताजा खबर

पूर्वराजा बोल्दा राजावादी उत्साहित, ज्ञानेन्द्र शाही भन्छन्- अब जनमत संग्रहका लागि संघर्ष

नागरिक पोष्ट

बुधबार, ७ फाल्गुन २०८१

851 views

851 views

पूर्वराजा बोल्दा राजावादी उत्साहित, ज्ञानेन्द्र शाही भन्छन्- अब जनमत संग्रहका लागि संघर्ष

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसमा दिएको शुभकामना सन्देशले राजावादी वृत्तमा सकारात्मक तरंग फैलिएको छ । अब राजतन्त्र पुनर्स्थापनका लागि निर्णायक संघर्ष हुने भन्दै जुर्मुराएका छन् ।

आफ्नो शुभकामना सन्देशमा पूर्वराजाले ‘देश जोगाउ आफूलाई साथ दिन’ आह्वान गरेका थिए । आफूले गरेको त्यागलाई कमजोरी नठान्न पनि उनले दलहरूलाई चेतावनी दिएका छन् ।


पूर्वराजाको शुभकामना सन्देशमा भनिएको छ, ‘हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भनेर त्याग गरेका हौँ । नेपालको उन्नतिका लागि हामीबाट अरु के-के त्याग गर्नुपर्ने हो, हामी तयार छौँ । अब समय आयो । राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीलाई आह्वान गर्छौं ।’

पूर्वराजाबाट देशको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै आफू फेरि शक्तिमा फर्किने चाहना अभिव्यक्त भएको यो पहिलोपटक होइन । विभिन्न शुभकामना मन्तव्यमा उनले घुमाउरो रुपमा यस्तो चाहना राखिरहेका हुन्छन् । तर, अरुबेला मौन बस्छन् । यिनै वक्तव्यवाजीबाहेक राजतन्त्र पुन:स्थापनाका लागि उनले ठोस प्रयास अघि बढाएका छैनन् ।


अहिलेको वक्तव्यमा उनले मुर्तरूपमा नै आफूलाई साथ दिन आह्वान गरेकाले राजावादी उत्साहित छन् । ‘अब राजाले केही गर्दैछन्’ भन्ने भाव राजावादीमा पैदा भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले मंगलबार नै फेसबुकमार्फत् सबैलाई तयारी अवस्थामा रहन आह्वान गरेका छन् ।

उनी भन्छन्, ‘प्रजातान्त्र दिवसको उपलक्ष्यमा शुभसन्देश प्राप्त, जो-जहाँ छौँ, त्यही स्थानमा रहन, तयारी अवस्थामा बस्न अनुरोध गर्दछौं । यो सन्देश सबैमा पुर्‍याउन अपील गर्दछौँ ।’

शाहीले अब राजतन्त्र र गणतन्त्रको छिनोफानोका लागि जनमत संग्रह गराउन निर्णायक दबाब दिइने बताए ।

‘पूर्वराजाको अभिव्यक्ति हचुवामा आएको होइन । उनलाई साथ दिन हामी अगाडि बढ्ने हो । संसद्‍देखि सडकसम्म हामी जनमतसंग्रहको आवाज उठाउँछौँ’, उनले भने ।

राजावादी सबै शक्ति र गणतन्त्रवादी पार्टीहरूमा रहेका राजाका शुभेच्छुकहरू एक ठाउँमा आएर आन्दोलनको आँधिबेहरी ल्याउने उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?