आईतवार, २७ माघ २०८१
290 views
290 views
काठमाडौं । नेकपा एमालेका सांसद पदम गिरीले प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री जस्तो व्यक्तिले सामाजिक सञ्जालको हल्लाको कुरालाई बोकेको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आलोचना गरेका छन् ।
पूर्वकानूनमन्त्री समेत रहेका उनले पूर्वप्रधानमन्त्री जस्तो व्यक्तिले आधारहीन र सामाजिक सञ्जालको हल्लाका कुरालाई संसदीय छानबिनको विषय बनाएको भन्दै आपत्ति जनाएका हुन् ।
प्रचण्डले माघ २४ गते संसद्मा दिएको पछिल्लो अभिव्यक्ति तर्क र तथ्यहीन तथा घृणा फैलाउने रहेको भन्दै आपत्ति जनाए ।
उनले आधारहीन कुरामा छानबिन गर्ने हो भने प्रचण्ड स्वयम् तानिने पनि बताए ।
‘बजार हल्लाको नीच विषयलाई लिएर पूर्वप्रधानमन्त्रीले स्वीस बैंकको पैसा, कम्बोडियाको लगानी छानबिन गरौं भनेर प्रधानमन्त्रीलाई लाञ्छित गर्ने हो भने हिजो तपाईंहरूसँग लडेका साथीहरूले भनिरहेका छन्, क्यान्टोनमेन्टको अर्बौ रूपैयाँ दुबईका बैंकमा छ खोज्नुपर्छ भनेर’, उनले भने, ‘हिजो युद्धको बेला बैंक लुटपाट गरेको पैसाजति अमेरिकाको लस भेगसको ठूलो जुवाघरमा लगानी भएको छ भन्ने प्रचार भइरहेको छ । के अब हामी यस्तैको पछि लागेर संसदीय छानबिन समिति बनाऊँ भनौँ ?’
उनले प्रचण्डले हावादारी कुरा गरेको भन्दै संयमता अपनाउन आग्रह गरे । ‘तपाईंबाट हामीले त्यही अपेक्षा गर्ने हो ? त्यसैले प्रतिपक्षी नेताले आफ्नो अभिव्यक्ति तथ्य र संयमका आधारमा दिनुपर्छ’, उनले भने।
’पूर्वमन्त्री गिरीले सरकारले ल्याएका अध्यादेशबाट उद्योगी व्यवसायी, सूचना प्रविधि क्षेत्रका युवादेखि सर्वसाधारण जनता सबै खुसी हुँदा प्रतिपक्षमात्र दुःखी हुनुले स्वार्थ समूहलाई धक्का पुगेको हुनसक्ने बताए ।