आईतवार, १६ चैत्र २०८१
1463 views
1463 views
रौतहट । जिल्लाको सदरमुकाम गौर स्थित भंन्सार कार्यालयमा लक्ष्यअनुसारको राजस्व संकलन हुन नसक्दा सरकारी आम्दानीमा गिरावट आएको छ।यसको मुख्य कारण सदरमुकाम गौरमा स्थानीय व्यवसायी र भंन्सार अधिकारीहरूले क्वारेन्टाइन सुविधा नहुनु भएको बताएका छन्।
नेपाल-भारत सीमामा रहेको गौर भंन्सार नाका हुँदै दैनिक ठूलो परिमाणमा मालसामान आयात-निर्यात हुने गर्दछ । तर, स्वास्थ्य परीक्षण तथा अन्य आवश्यक जाँचका लागि आवश्यक क्वारेन्टाइन सुविधा नहुँदा व्यापारिक गतिविधिमा समस्या देखिएको हो ।
गौर भंन्सार कार्यालयले चालू आर्थिक वर्षमा तोकिएको राजस्व संकलन लक्ष्य पूरा गर्न सकेको छैनन् । भंन्सार स्रोतका अनुसार, विगत वर्षहरूमा तुलनात्मक रूपमा राम्रो संकलन भए पनि अहिलेका महिनाहरूमा यो दर घट्दै गएको हो ।
भंन्सार प्रमुखका अनुसार, "हामीले तोकिएको लक्ष्यअनुसार राजस्व संकलन गर्न प्रयास गरिरहेका छौं, तर क्वारेन्टाइन सुविधा नहुँदा व्यवसायीहरू अन्य नाकाहरू प्रयोग गर्न बाध्य भएका छन्। यसले गौर भंन्सारमार्फत हुने वैध व्यापारमा गिरावट आएको छ।"
स्थानीय व्यापारीहरूले पनि सीमामा उचित क्वारेन्टाइन व्यवस्था नहुँदा वैध व्यापार प्रभावित भएको गुनासो गरेका छन्। "हामी आयात-निर्यात गर्दा सामानको अनिवार्य परीक्षण तथा अन्य प्रक्रिया पूरा गर्नुपर्छ। तर, गौरमा आवश्यक क्वारेन्टाइन सुविधा नहुँदा हामीलाई झन्झट हुन्छ, जसले गर्दा वैकल्पिक नाका खोज्नुपरेको हो "एक स्थानिय ब्यबसायी ले भने ।
स्थानीय प्रशासन तथा संघीय सरकारले यस विषयलाई गम्भीरतापूर्वक लिएर उचित कदम नचाले गौर भंन्सार कार्यालयको राजस्व संकलनमा अझै गिरावट आउने सम्भावना रहेको हो ।
क्वारेन्टाइन सुविधा नहुँदा व्यापारीहरू वैध प्रक्रियाबाट सामान ल्याउन हतोत्साहित हुने र अवैध तरिकाबाट आयात-निर्यात बढ्न सक्ने जोखिम रहेको विज्ञहरूको भनाइ रहेको हो । भंन्सार प्रशासनले सीमा क्षेत्रमा अनुगमन कडा पार्ने प्रयास गरे पनि आवश्यक पूर्वाधार अभावका कारण समस्या समाधान हुन सकेको छैनन् ।