११ चैत्र २०८१, मंगलवार
ताजा खबर

आइएमई ग्रुप र आईएक्सआई कर्पको संयुक्त लगानीमा काठमाडौँ टेक्निकल स्कुल सञ्चालन

नागरिक पोष्ट

मंगलवार, ११ चैत्र २०८१

307 views

307 views

आइएमई ग्रुप र आईएक्सआई कर्पको संयुक्त लगानीमा काठमाडौँ टेक्निकल स्कुल सञ्चालन

काठमाडौँ  । आइएमई ग्रुप र आईएक्सआई कर्पले रोजगार बजारमा दक्ष जनशक्तिको माग पूरा गर्न काठमाडौँ टेक्निकल स्कुल सञ्चालनमा ल्याएका छन्। मंगलबार, काठमाडौँको धुम्बाराहीस्थित काठमाडौँ टेक्निकल स्कुलको प्राङ्गणमा आयोजित एक विशेष समारोहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री सरत सिंह भण्डारीले उक्त स्कुलको शुभारम्भ गर्नुभएको हो।

यस स्कुलले हस्पिटालिटी, कुलनिरी आर्टस, केयर गिभिङ, बारिस्ता, बार टेन्डिङलगायत तीन दर्जनभन्दा बढी रोजगारमूलक तथा स्वरोजगारमूलक विधाहरुमा तालिम दिने छ। स्कुलले आगामी एक दशकमा १ लाखभन्दा बढी कुशल जनशक्ति र प्रोफेशनल्स उत्पादन गर्ने लक्ष्य राखेको छ।

आइएमई ग्रुपले आफ्नो अढाइ दशकको व्यावसायिक यात्रामा बैंक, वित्तीय क्षेत्र, बीमा, पर्यटन, जलविद्युत, म्यानुफ्याक्चरिङ, र अन्य क्षेत्रमा धेरै उद्योग र परियोजनाहरु सञ्चालन गर्दै २५,००० भन्दा बढी व्यक्तिलाई प्रत्यक्ष रोजगारीको अवसर प्रदान गरेको छ। यसैगरी, आईएक्सआई कर्पले वैकल्पिक लगानी, ऊर्जा, शिक्षा, प्रविधि र सार्वजनिक नीतिका क्षेत्रमा काम गर्दै आएको छ।

समारोहलाई सम्बोधन गर्दै श्रम मन्त्री भण्डारीले भने, “सीप, रोजगारी, उद्यमशीलता र पुँजीको संयोजनले मात्र बेरोजगारी र गरिबीका समस्या समाधान गर्न सकिन्छ। सरकारले निजी क्षेत्रसँग साझेदारीलाई प्राथमिकता दिएको छ र प्राविधिक जनशक्ति उत्पादनलाई प्रमुख प्राथमिकतामा राखेको छ।”

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले काठमाडौं टेक्निकल स्कुलको उद्घाटनसँगै आइएमई ग्रुप प्राविधिक जनशक्ति उत्पादनमा अघि बढेको बताए। उनले यस स्कूलले हजारौं युवालाई रोजगार र स्वरोजगारका अवसर प्रदान गर्ने महत्वबोध गराए।

काठमाडौँ टेक्निकल स्कुलका अध्यक्ष मनोज पौडेलले पनि यस स्कूलले आगामी दश वर्षमा १ लाख दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यमा महत्वपूर्ण योगदान पुर्याउने बताए।

कार्यक्रममा नेपाल सरकार, निजी क्षेत्र, विदेशी कूटनीतिक नियोगका प्रतिनिधिहरू र अन्य सरोकारवालाहरूको उपस्थिति थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?