१२ चैत्र २०८१, बुधबार
ताजा खबर

रौतहटमा विभिन्न नारासहित मोटरसाइकल र्‍याली

नागरिक पोष्ट

मंगलवार, ११ चैत्र २०८१

2568 views

2568 views

रौतहटमा विभिन्न नारासहित मोटरसाइकल र्‍याली

रौतहट, चैत १२ – नेपालमा राजतन्त्र पुनःस्थापनाको माग गर्दै देशभर राजावादी समूहहरूले विभिन्न नारा लगाउँदै प्रदर्शन जारी राखिरहेका छन्। यसै क्रममा मंगलवार रौतहटमा पनि ठूलो संख्यामा मोटरसाइकल र्‍याली निकालिएको छ।

‘राजा आउ, देश बचाउ’ नारासहित जिल्लाको मध्यभागमा रहेको गरुडा बजारबाट सुरु भएको मोटरसाइकल र्‍याली सदरमुकाम गौरको भंन्सारसम्म पुग्यो। र्‍यालीमा सयौं मोटरसाइकलहरू सहभागी थिए, जसमा शैलेन्द्र सिंह, गेनालाल साह, तेजनारायण महतो, नन्दलाल साह भगतजी, बिरेन्द्र गिरी, जयकुमार साह लगायतका स्थानीय राजावादी समर्थकहरूको उपस्थिति रहेको थियो। र्‍यालीका सहभागीहरूले राष्ट्रिय झण्डा फहराउँदै पूर्वराजा ज्ञानेन्द्रको पक्षमा नारा लगाएका थिए।

र्‍यालीमा सहभागीहरूले वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि जनाउँदै राजतन्त्र पुनःस्थापनाको माग गरे। उनीहरूले संघीयता र गणतन्त्रले देशमा स्थायित्व दिन नसकेको भन्दै राजसंस्थालाई पुनःस्थापित गर्नुपर्ने धारणा व्यक्त गरे।

स्थानीय प्रशासनले भने शान्तिपूर्ण प्रदर्शनलाई सहज बनाउन ध्यान दिएको शैलेन्द्र सिंहले बताए। सुरक्षाकर्मीहरू र्‍यालीका क्रममा तैनाथ गरिएको थियो, र कुनै अप्रिय घटना नहोस् भन्नेतर्फ प्रशासन सतर्क रहेको देखिएको छ।

नेपालका विभिन्न स्थानमा हाल राजतन्त्र पक्षधरहरूको आन्दोलन चलिरहेको छ। केही दिनयता काठमाडौं, पोखरा, विराटनगर, नेपालगञ्जलगायतका ठूला शहरहरूमा समेत यस्ता प्रदर्शनहरू भएका छन्।

राजनीतिक विश्लेषकहरूका अनुसार यो आन्दोलनले नेपालमा राजसंस्थाको पुनरागमन सम्भव छ वा छैन भन्ने बहसलाई पुनः चर्चामा ल्याएको हो। तर, सरकार र प्रमुख राजनीतिक दलहरूले भने लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउनुपर्ने पक्षमा आफूहरू दृढ रहेको बताएका छन्।

यस र्‍यालीले स्थानीय स्तरमा राजावादी गतिविधिहरू अझ सक्रिय हुँदै गएको संकेत गरेको छ। आगामी दिनमा यस्ता प्रदर्शनहरू अझै व्यापक हुने अनुमान गरिएको छ। राजावादी विभिन्न समितिहरूले आफ्ना गतिविधिहरूको लागि विभिन्न कार्यक्रम गर्दै आइरहेका छन्।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?