सोमबार, १० चैत्र २०८१
834 views
834 views
रौतहट । बृन्दाबन नगरपालिकाका मेयर बिनोद पटेलले नगरको समग्र विकासलाई नयाँ उँचाइमा पुर्याउनका लागि प्रमुख प्रशासकीय अधिकृत (उप-सचिव) खिम बहादुर भुजेलको योगदानलाई सराहना गरेका छन्। उनले शुक्रबार पत्रकार सम्मेलनमा भुजेलको भूमिका र नगरपालिकामा भएका सकारात्मक परिवर्तनको चर्चा गर्दै भने, "उप-सचिव भुजेलको नेतृत्वमा नगरपालिकाको प्रशासनिक व्यवस्था द्रुत र प्रभावकारी बनिरहेको छ, जुन नगरवासीहरूको लागि गर्वको कुरा हो।"
मेयर पटेलले थपे, "पहिले नगरपालिकामा विकास कार्यमा थुप्रै कठिनाइहरू आइरहेका थिए। भिजन भएका दक्ष प्रशासकको अभावमा नगरको समग्र विकासमा बाधा आइरहेको थियो। तर अहिले मंन्त्रालयले उप-सचिव भुजेललाई पठाएकोले नगरपालिकाले ठूलो सहयोग पाएको छ।" उनले स्पष्ट पारे कि विभिन्न स्थानमा पालिकाका मेयरहरुले आफ्ना आफन्तलाई प्रशासनिक पदमा नियुक्त गरेका छन्, तर बृन्दाबन नगरपालिकाले कानूनी प्रक्रियाअनुसार उप-सचिव भुजेललाई नियुक्त गरेको हो।
मेयर पटेलले अझै भने, "उप-सचिव भुजेलको नेतृत्वमा नगरपालिका चल्दै छ र विकास निर्माणको गति बढेको छ। नीति निर्माणदेखि दीर्घकालीन भिजनसम्म, बृन्दाबन नगरपालिकाको विकास र परिवर्तनको गति द्रुत भएको छ। यो हाम्रो लागि गर्वको विषय हो।"
अन्त्यमा, मेयर पटेलले उप-सचिव भुजेलसँगको सहकार्यलाई महत्त्वपूर्ण मान्दै संघीय सरकारसँग आग्रह गरे कि बृन्दाबन नगरपालिकामा प्रशासनिक स्थायित्व कायम राख्न र विकास योजनाहरूलाई दीर्घकालीन रूपमा कार्यान्वयन गर्न उप-सचिव भुजेललाई निरन्तरता दिइनु पर्छ।