८ मंसिर २०८१, शनिबार
ताजा खबर

बालश्रममा परेका बालबालिकाको उद्धार गरेर रेखदेख गर्दै छ एस्थर बेन्जामिन्स मेमोरियल फाउन्डेसन

नागरिक पोष्ट

मंगलवार, १ आश्विन २०८१

2432 views

2432 views

बालश्रममा परेका बालबालिकाको उद्धार गरेर रेखदेख गर्दै छ एस्थर बेन्जामिन्स मेमोरियल फाउन्डेसन

काठमाडौँ । सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि सिन्धुपाल्चोकका १३ वर्षीय कवीन्द्र तामाङ (नाम परिवर्तन)लाई मयुर यातायातको बसबाट काठमाडौँ महानगरपालिकाले उद्धार गरिएको थियो । महानगरले बसमा सहचालकको काम गर्दै आएका कवीन्द्रलाई उद्धारपछि घर फर्काउन खोज्दा नमानेपछि एस्थर बेन्जामिन्स मेमोरियल फाउन्डेसनमा  आश्रयको पठाएको छ । 
कविन्द्र सहचालकको रुपमा काम गरिरहेको भिडियो साामजीक सञ्जालमा भाइरल भएपछि महानगरले उसलाई उद्धार गरेको थियो । 
पढाइ छोडेर कामको लागि काठमााडौँ आएका कविन्द्र भन्छन् ‘एस्थर बेन्जामेनमा आएपछि छोडेको पढाइलाई फेरी निरन्तरता दिन पाए ।’ 
त्यसतै भोजपुरका  १४ वर्षिय सोनाम गुरुङ्गतीन जना साथीसँग काम गरेर जीविकोपार्जन गर्न काठमाडौं आएका थिए । 
ललितपुर महानगरपालिकाको महालक्ष्मी नगरपालिकामा रहेको ग्रिल कारखानाबाट हालै उनको उद्धार गरिएको थियो । उद्धार पछि उनलाई पनि ललितपुर महानगरले एस्थर बेन्जामिन्स मेमोरियल फाउन्डेसनमा आश्रयको लागि पठायो । 
साथीको लहैलहैमा लगेर भोजपुरबाट भागेर आएका सोनाम भन्छन् ‘तिन महिना ग्रिल कारखानामा काम गरे पारिश्रमिक पनि पाइन र पढ्न पनि पाइन ।’ 
ललितपुर महानगरले उद्धार गरेर संस्थामा आश्रय दिएपछि पढ्न पनि पाएको अन्य आधारभूत आवश्यकता पनि सबै पुरा भएकोमा खुसी लागेको सोनाम सुनाउँछन् । 
क्रमश सिन्धुलीका दिपक माझीले १४ वर्षको उमेरका काठमाडौँ आएर इँटा भट्टामा काम गर्दै थिए । आमाले छोडर गएपछि बुबासँग भक्तपुर आएर उनले इट्टा भट्टामा काम गर्न थाले । उनी मात्र हैन उनका सानो भाइ र बहिनी पनि त्यही इँटा भट्टामा श्रम गर्न थाले । कमजोर आर्थिक स्थितिले दिपक र तिनका भाइबहिनीलाई इँटा कारखानामा काम गर्न बाध्य भए । 
दिपक भन्छन् ‘मेरो बुबा दैनिक ज्याला मजदुरी गर्नुहुन्थ्यो र बुबाले कामएको पैसाले हामी तीन जनालाई खाना पनि पुग्दैन थियो । त्यसैले हामीले पढाइ पनि छोड्नु पर्यो र बुबालाइे ुहयाृग गर्नको लागि काम गर्नुपर्यो ।’
यदि आमाले छोडेर नगएको भए आमा बुबा मिलेर हामीलाई पढाउनु हुन्थ्यो होला, हामीले काम गर्न पर्दैन थियो होला  दिपक निरास सुनिए । 
एस्थर बेन्जामिन्सले दिपकलाई उद्धार गर्यो र उनको भाइ बहिनीलाई पनि पढाइको लागि सहयोग गर्यो । काम छोडेर पढ्न पाएकोमा दिपक अहिले खुसी छन् । 
कविन्द्रसँगै उद्धार गरिएका तीन बालबालिका अहिले एस्थर बेन्जामिन्स मेमोरियल फाउन्डेसनको चाइल्ड सेफ हाउसमा बसिरहेका छन् । उद्धार गरिसकेपछि कवीन्द्र विद्यालय भर्ना भएर पढाइलाई निरन्तरता दिइरहेको छन् । साथै सोनाम र दिपकले पनि पढाइलाई निरन्तरता दिन थालिसकेका छन् । 
फाउन्डेसनका उद्धार संयोजक दिलु तामाङले अहिले घरपरिवारको समस्याका कारण बालबालिका घर छाडेर विभिन्न किसिमको श्रममा संलग्न हुने गरेको बताए । सिन्धुपाल्चोकका तामाङ विगत सात महिनादेखि बालश्रममा संलग्न भेटिएको उनले बताइन् । 
परिवारबाट हुने बेवास्ताले बालबालिकालाई घर छाड्न प्रेरित गर्छ । कवीन्द्रका परिवार उनलाई घर फर्काउन चाहन्छन् तर उनी घर फर्कन नचाहेको तामाङ बताउँछिन् । 
उनी भन्छिन् ‘बालबालिकाहरूलाई परिवारमा फर्कन इच्छा  नगरेसम्म र  उनीहरूको लागि सुरक्षित वातावरण नभएसम्म हामी उनीहरूको घर पठाउँदैनौ ।’ 
एस्थर बेन्जामिन्स मेमोरियल फाउन्डेसनले यसअघि नै विभिन्न क्षेत्रका करिब १,००० बालबालिकाको उद्धार गरिसकेको छ, विशेष गरी भारतका सर्कस हाउसहरू र नेपालमा जोखिमपूर्ण श्रोत्रबाट संस्थाले बालबालिकालाई उद्धार गरेको छ । 
एस्थर बेन्जामिन्स मेमोरियल फाउन्डेसनका कार्यकारी निर्देशक आत्माराम थापाले बाल अधिकारको क्षेत्रमा उल्लेखनीय काम भइरहेको  भए पनि बालश्रम मुक्त समाज निर्माण गर्न सरकार, नागरिक समाज र गैरसरकारी तीनै तहको समन्वय र सहकार्य महत्वपूर्ण रहेको बताए । 
बाल अधिकारको क्षेत्रमा आफ्नो लामो काम गरेको अनुभव बाँड्दै उनले स्थानीय तहमा बाल अधिकारको व्यवस्थालाई सुदृढ गर्दै बालबालिकालाई हिंसा र दुर्व्यवहारबाट जोगाउनुपर्ने बताए । 
काठमाडौँ महानगरले पछिल्लो ५ महिनामा विभिन्न क्षेत्रमा बाल श्रमिकको रूपमा कार्यरत ५१ जना बालबालिकाको उद्धार गरेको छ ।
विभिन्न क्षेत्रमा १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई बालश्रम लगाएको पाइएपछि बालबालिकालाई उद्धार गरेको काठमाडौँ महानगर बाल कल्याणकी अधिकारी शान्ता पहाडीले जानकारी दिइन् । 
उनकाअनुसार अरूको घरमा श्रम गर्दै आएका, होटेल तथा रेस्टुरेन्टमा काम गर्ने, सहचालकको रूपमा काम गरिरहेका बालबालिकाको उद्धार गरिएको हो ।
अहिलेसम्म जोखिममा रहेका २७ जना बालिका र २४ जना बालकको उद्धार गरिएको छ । तीमध्ये २३ जनालाई अस्थायी संरक्षण गृहमा राखिएको छन् भने बाँकीलाई परिवारमा पुनर्मिलन गराइएको उनले बताइन् । 
सडक बालबालिका र विभिन्न क्षेत्रमा काम गर्ने केही बालबालिकालाई पढाइलाई निरन्तरता दिन र घर फर्कन गाह्रो भएको काठमाडौँ महानगरपालिका बाल कल्याण अधिकृत पहाडीले बताइन् । उनी भन्छिन् ‘घर फर्कन गाह्रो भएको केही बालबालिकालाई महानगरले आश्रय स्थलमा पठाएको छ ।’
छात्रावास र यातायात क्षेत्रमा काम गर्ने बालबालिका जोखिममा रहेको र राज्यबाट संरक्षण आवश्यक रहेको बताइन् । जोखिममा रहेका बालबालिकालाई रातो, पहेँलो र हरियो गरी तीन रङ्गमा वर्गीकरण गरिएको छ । 
१८ वर्ष मुनिका बालबालिका, जसले दिनको ८ घण्टा भन्दा बढी काम गर्नुपर्छ, यौन हिंसा र दुर्व्यवहारको सामना गर्नुपरेको छ वा भोगिरहेको छ भने रातो श्रेणीमा वर्गीकृत गरिएको छ । 
दिनमा दुईदेखि पाँच घण्टा काम गर्नुपर्ने र फोहोर मैला र दुर्व्यवहार गर्ने, पेट भरेर खान नपाउने र पर्याप्त सुत्न नपाउने बालबालिकालाई पहेँलो वर्गमा राखिएको छ ।
शारीरिक र मौखिक दुर्व्यवहार नगरिएका र पर्याप्त शैक्षिक सामग्री उपलब्ध गराइएका, परिवारसँग नियमित सम्पर्कमा रहेका, पर्याप्त खानामा पहुँच भएका र सुत्नको लागि ओछ्यान र कोठा भएका बालबालिकालाई हरियो श्रेणीमा वर्गीकरण गरिएको छ ।
सन् २०२१ को नेपाल बाल श्रम प्रतिवेदनअनुसार १० लाख ८० हजार बालबालिका श्रममा छन् । कुल बालबालिकामध्ये १६ प्रतिशत बालश्रममा रहेको तथ्याङ्कले देखाउँछ । त्यसमा पनि दुई लाख बालबालिकालाई अत्यन्त जोखिमपूर्ण श्रम शोषण भएको देखिन्छ । कर्णाली प्रदेशमा २५ प्रतिशत, सुदूरपश्चिममा २१ प्रतिशत र कोसी प्रदेशमा १८ प्रतिशत बालबालिका श्रम शोषणमा रहेका छन् । समग्रमा दलित समुदायका बालबालिका २० प्रतिशत श्रम शोषणमा परेका छन् ।
राष्ट्रिय श्रम शक्ति सर्वेक्षण प्रतिवेदनअनुसार करिब २१ लाख ४० हजार बालबालिका आर्थिक रूपमा सक्रिय छन् । प्रतिवेदनअनुसार १६ लाख बालबालिका श्रमिककै रूपमा कार्यरत छन् भने तीमध्ये ६ लाख २० हजार बालबालिका निकृष्ट प्रकारको श्रममा संलग्न छन् ।
हाम्रो कानुनले १८ वर्षमुनिका बालबालिकाले काम गर्दा त्यसलाई बालश्रम भन्छ । बालबालिका सम्बन्धी ऐन २०७५ को ७ मा संरक्षणको अधिकार तोकिएको छ । ऐनको क्रमसङ्ख्या ९ मा १४ वर्ष मुनिका बालबालिकालाई जोखिमपूर्ण काममा लगाउन वा घरेलु कामदार वा कमलरीको रूपमा राख्न नहुने व्यवस्था गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?