बुधबार, ६ असार २०८१
4880 views
4880 views
चितवन । चितवन रामपुरमा “ईन्टरनेशल कन्फ्रेन्स अन ईकोलोजिकल ईम्प्याक्ट अन एग्रिकल्चर, बिजनेश एण्ड टेक्नोलोजी” विषय दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि शुरु भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको अनुसन्धान प्रसार निर्देशनालयकाे आयोजना गरेको सम्मेलनमा स्वदेशी तथा विदेशी विज्ञ सहभागी भएका हुन् ।
कार्यक्रम उद्घाटनका अवसरमा सहभागी स्वदेशी तथा विदेशी विज्ञहरुले मौसम परिवर्तनको अनुकूल हुने गरी कृषिको विकास गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले मौसम परिवर्तन कृषि क्षेत्रको विकासमा चुनौती रहेकोमा जोड दिएका हुन् । सम्मेलनमा सहभागीहरुले हिउ पग्लिंदै जाँदा भूक्षय र पानीको अभाव जस्ता समस्याहरु बढ्दै गएको भन्दै यससँगै जुध्न सक्ने गरी कृषि र प्रविधिको विकास गर्नुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा विश्व विद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा.देवराज अधिकारीले मौसम परिवर्तनको चुनौतीलाई सम्बोधन गर्नेगरी अघि बढ्नु पर्ने बताए । उनले भने “हिमाल पग्लिैदै जानु, भूक्षय हुनु जस्ता कारणले अर्थतन्त्रमा ठूलो प्रभाव पारेको छ ।”
नेपालका जलविद्युत हिमालबाट बगेका नदीहरुमा निर्भर रहेको भन्दै त्यसको असर विद्युत उत्पादन हुँदै अर्थतन्त्रमा पर्ने अधिकारीले बताए । डा. अधिकारीले विश्वविद्यालयहरुले यस्ता समस्याहरुका बारेमा अध्ययन अनुसन्धान गरेर समाधानको बाटो पहिल्याउनु पर्ने बताए । उनले भने “यस्ता कार्यक्रममा विश्वविद्यालय अनुदान आयोग सहयोग गर्न तयार छ ।”
सो अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य डा.रमेशचन्द्र पौडेलले सान्दर्भिक विषयमाथि छलफल भएको भन्दै प्रकृति र विज्ञानमा आधारित भएर अघि बढ्नुपर्ने बताए । नेपालको शिक्षा नीतिमा परिवर्तन गरेर ७० प्रतिशत विद्यार्थीलाई प्राविधिक र ‘भोकेशनल’ शिक्षा दिने बनाउनु पर्ने बताए ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) का उपकुलपति प्रा.डा.पुष्यप्रसाद रेग्मीले विश्वविद्यालयका विद्यार्थीहरुलाई थप अनुसन्धानका लागि सहयोगको खाँचो औल्याएका थिए ।
दुई दिनसम्म चल्न सम्मेलनमा नेपाल, भारत, अमेरिका, इन्डोनेसीया, चीन र अष्ट्रेलियाका बिज्ञ, प्राध्यापक र विद्यार्थीहरुको सहभागिता रहेको छ । भारतका बिभिन्न विश्वविद्यालय र संस्थाबाट एक सय जना प्रतिनिधि सम्मेलनमा सहभागी भएको AFU का निर्देशनालयका अनुसन्धान निर्देशक डा. ऋषिराम कट्टेलले जानकारी दिए ।
उनले भने "अमेरिका, इन्डोनेसीया, चीन, अष्ट्रेलियाबाट समेत विज्ञ, प्रध्यापक र विद्यार्थीहरु उपस्थित भएर कार्यपत्र प्रस्तुत एवं छलफल हुँदैछ ।" एक सय भन्दा बढि बिभिन्न बिषयका कार्यपत्र प्रस्तुतीकरण र समुहगत छलफल गरिने कट्टेलले बताए । कार्यक्रमलाई भरतपुर महानगरपालिका, कृषि विकास बैंक, ग्लोबल आईएमई बैंक, युएसएड लगायतका संघ संस्थाले सहयोग गरेका छन् भने विदेशी विश्वविद्यालयहरुले पनि सहकार्य गरेका छन् ।