मंगलवार, १६ पुष २०८१
3979 views
3979 views
काठमाडौं, १६ पुस । नेपाली फेसन उद्योगले अन्तर्राष्ट्रिय मञ्चमा ऐतिहासिक कदम चालेको छ। आउँदो १२ जनवरी २०२५ मा, यूएईको दुबईमा पहिलो पटक चर्चित नेपाली डिजाइनर तृष्णा गुरुङ द्वारा डिजाइन गरिएका पहिरनमा प्रसिद्ध मोडलहरूले र्याम्पमा जलवा देखाउने छन्।
यो फेसन शो नेपाली डिजाइनरको १५ वर्षको कडा मेहनतको उपलब्धि हो। डिजाइनर गुरुङ दुबईको चार्ल्टन डुबई क्रिक होटलमा भव्य फेसन शो आयोजना गर्न लागेको छ। कार्यक्रममा नेपाली ब्यान्ड क्लासिकको लाइभ म्युजिकको साथमा गुरुङका उत्कृष्ट डिजाइनमा सजिएका मोडलहरूले र्याम्पमा प्रस्तुति दिनेछन्।
नेपाली फेसन उद्योगको अन्तर्राष्ट्रिय यात्रा
यो इभेन्ट नेपाली फेसन उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने कोशेढुंगा हुने विश्वास आयोजकहरूको छ। कार्यक्रमको फेसन शोमा प्रमुख ब्रान्डहरूको एम्बेसेडर मृ। तृष्णा गुरुङ रहनुहुन्छ भने महिला एम्बेसेडरको छनोट प्रक्रिया जारी छ। यस कार्यक्रमका चिफ एड भाइजर हेमराज मैनाली हुनुहुन्छ।
नेपाली समुदायको पहिचानको प्रगति
दुबई जस्तो मध्यपूर्वको केन्द्रमा आयोजना हुने यस भव्य इभेन्टले नेपाली समुदायको कला, संस्कृति र प्रतिभालाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने विश्वास गरिएको छ। व्यवसायी र समाजसेवी सुबास न्यौपानेका अनुसार, यस्ता कार्यक्रमहरूले नेपालीहरूको पहिचानलाई बृहत् बनाउने र नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने महत्वपूर्ण अवसर प्रदान गर्छन्।
नेपाली समुदायको आर्थिक र व्यवसायिक योगदान
हालै, लगभग ७ लाख नेपाली यूएईमा कार्यरत छन्। यिनै नेपालीहरू होटल, रेस्टुरेन्ट, ब्यूटी पार्लर, र कन्सल्टेन्सी जस्ता विविध व्यवसायमा सक्रिय छन्। यस्ता कार्यक्रमहरू नेपाली समुदायको सामाजिक र व्यवसायिक पहिचानलाई थप मजबुत बनाउन मद्दत पुर्याउने विश्वास गरिएको छ।
तृष्णा गुरुङको यो फेसन शो नेपाली फेसन उद्योगको सम्भावना र सिर्जनशीलतालाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने ऐतिहासिक अवसर बन्नेछ।