बुधबार, २३ श्रावण २०८१
9963 views
9963 views
काठमाडौं । बंगलादेशको एक होटलमा आगलागी हुँदा कम्तीमा २४ जनाको मृत्यु भएको छ । रिपोर्टका अनुसार सो होटलमा सोमबार आगलागी भएको थियो । जबीर इन्टरनेशनल होटल अवामी लिगका निकटतम सदस्यको होटल थियो। बंगलादेशको दैनिक पत्रिका ‘डेली स्टार’का अनुसार आगो नियन्त्रणमा लिन उद्धार टोलीलाई १२ घण्टा लागेको थियो ।
अखबारको रिपोर्टका अनुसार प्रदर्शनकारीहरूले फायर फाइटरहरूलाई लामो समयसम्म होटलमा पुग्न दिएनन्, जसका कारण उद्धार कार्य ढिलो सुरु भएको हुन सक्छ।
यो होटल बंगलादेशको दक्षिण-पश्चिममा रहेको शहर जसोरमा छ। यस होटलका मालिक शाहीन चक्लादार हुन्, जो जसोर जिल्लाको अवामी लिग पार्टीका महासचिव हुन्। बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना सन् १९८० को दशकदेखि अवामी लिग पार्टीकी प्रमुख हुन् ।
बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले विद्यार्थीको लामो प्रदर्शनपछि सोमबार राजीनामा दिएकी हुन् । शेख हसिनाले बंगलादेश छोडेकी छिन् । त्यसपछि सेनाले विद्यार्थी र सर्वसाधारणलाई शान्ति कायम राख्न अपिल गरेको भएपनि बंगलादेशका विभिन्न क्षेत्रबाट हिंसा, लुटपाट र आगजनीका समाचार आइरहेका छन् ।