मंगलवार, २७ चैत्र २०८०
13142 views
13142 views
भक्तपुर – आठ रात नौ दिनसम्म भव्य रुपमा मनाइने यहाँको ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्रा २०८० भक्तपुरमा सुरु भएको छ । भक्तपुरको पाँच तले मन्दिर टौमढी अगाडि राखेर बनाइएको भैरवनाथको रथ तानेसँगै जात्राको सुरूवात भएको हो।
प्रत्येक वर्ष नयाँ वर्षको चार दिन अगाडिदेखि प्यागोडा शैलीमा बनाइएको तीन तल्ले भैरवनाथको रथ तानेर बिस्काः जात्रा मनाउने चलन छ। यो जात्रा नौ दिन आठ रात लामो हुन्छ। रथलाई दुवैतिर डोरीले तान्ने गरिन्छ । एकातिर ६ वटा र अर्कोतिर चारवटा मोटो डोरी राखेर युवाले रथ तान्ने चलन छ ।
बिस्काः जात्राका सम्बन्धमा प्रचलित एउटा किंवदन्ती यस्तो छ:
संस्कृतिविद् लीलाभक्त मुनंकर्मीले आफ्नो पुस्तक ‘नेपालको सांस्कृतिक तथा ऐतिहासिक दिग्दर्शन’ मा उल्लेख गरेअनुसार परापूर्वकालमा यहाँ एक प्रतापी राजा थिए। ती राजाकी एक अत्यन्त सुन्दरी कन्या थिइन्। राजाले ती राजकन्यालाई विवाह गरिदिन धेरै कोसिस गरे पनि सफल हुन सकेका थिएनन्। राजकन्या आफ्ना दुलाहासँग सुतेपछि भोलिपल्ट बिहान ती दुलाहा मरिसकेका हुन्थे। दुलाहादुलही सुतिसकेपछि राति राजकन्या दुलहीको नाकको प्वालबाट दुइटा स–साना सर्प निस्केर अजिंगरको रूपधारण गरी दुलाहालाई डसेर मार्थे र फेरि सानो सर्प भई राजकन्याको नाकको प्वालबाट भित्र पसी अदृश्य हुन्थे। यस प्रकार धेरै राजकुमारहरूको ज्यान गइसकेको थियो भने उता राजा पनि आफ्नी छोरीको विवाह हुन नसकेकामा साह्रै चिन्तित थिए।
यस्तैमा एक दिन देश बसाउन एक प्रतापी र बलवान राजकुमार घुमिरहेका बेला घना वनको बीचबाट खोला बगिरहेको ठाउँमा पुगेपछि एक करुण अवस्थाकी कपाल फुकाएकी, हाड र छाला मात्र भएकी वृद्धालाई देखे। राजकुमारले ती वृद्धाको सामुन्ने गएर ‘हजुर किन यस घोर जंगलको एकान्तमा बसिरहनुभएको छ रु र हजुर को हुनुहुन्छ रु’ भनी सोधे। ‘यस देशमा राजाकी छोरीद्वारा धेरै युवक सखाप भइसके। तिमी यहाँदेखि पर जाँदा एउटा खड्ग पाउनेछौ। त्यस खड्गले राजकुमारीको नाकबाट निस्कने एक जोडा अजिंगरलाई नडराईकन दुई टुक्रा पारी काटिदिनू। अनि तिमीले राजाकी छोरी विवाह गर्न पाई तिम्रो ठूलो भाग्य खुल्नेछ।’ यति भनेर वृद्धा अन्तध्र्यान भइन्।
राजकुमारलाई त्यहाँबाट अलि पूर्वतिर लाग्दा त्रिवेणी खोलामा एक खड्ग प्राप्त भयो, सो खड्ग लिई राजदरबारमा गई उनले राजासँग छोरी मागे। राजाले पनि खुसीसाथ ती छोरीको विवाह ती राजकुमारसँग गरिदिए र दुलाहादुलहीलाई कोठामा सुत्न पठाए। राति राजकन्या निदाइसकेपछि उनको नाकको प्वालबाट दुइटा स–साना सर्प निस्केर अजिंगर रूप धारण गरी राजकुमारलाई डस्न लाग्दा राजकुमारले निडरतापूर्वक खड्गले काटेर दुई टुक्रा पारिदिए। ती अजिंगर र अजिंगर्नीले प्राण त्याग गर्ने बेला ‘तिमी बडा पुरुषार्थी रहेछौ। यस देशमा हामी दुवैले धेरै पुरुषार्थी राजकुमारलाई मारिसकेका छौँ। अब हामी दुवै एकै ठाउँमा मर्न लाग्यौँ। हामी दुवै प्राण त्यागेर गएपछि हाम्रो पुरुषार्थ देखाउन सबैले देख्ने गरी जात्रा चलाइदिनू’ भनी प्राण त्याग गरे। भोलिपल्ट बिहान दुलाहादुलही दुवै जीवित रहेको र दुइटा अजिंगर मात्र मरेको देखेर सबैजना खुसी भए। अनि राजाले पनि छोरीलाई थुप्रै धन दाइजो दिएर राजकुमारलाई राजतिलक गरिदिए।
त्यसपछि नयाँ दुलहीसहित् गद्दीमा बस्न पाएका नयाँ राजाले राजदरबारमा धेरै ज्योतिषी भेला गरी अजिंगरले मर्ने बेलामा भनेर गएका कुराहरू सुनाए। अन्त्यमा ती मरेका अजिंगरको जोडीको प्रतीकस्वरूप कपडाको दुइटा लामो ध्वजा बनाई ५५ हात लामो विशेष खालको काठको लिंगोमा झुन्ड्याई चैत्र मसान्तको दिनमा सो लिंगो ठड्याउने जात्रा चलाई अर्को दिन वैशाख १ गते विसर्जन गर्ने बन्दोबस्त गरे। नेवारी भाषामा ‘बि’ भनेको सर्प र ‘सिका’ भनेको मारियो हुन्छ। यही बिसिका भन्ने शब्द अपभ्रंश भई बिस्काः हुन गएको भन्ने किम्बदन्ती रहेको छ। सर्प मारेपछि मनाउन थालिएको जात्रा भएकाले यसलाई बिस्काः जात्रा भनिएको हो।
बिस्काः जात्रालाई विगतमा बिस्केटजात्रा भनिन्थ्यो। केही सचेत नागरिक र संस्कृतिकर्मीले बिस्केटजात्रा होइन, बिस्काः जात्रा हो भनेर भन्न थालेपछि अचेल बिस्काः जात्रा भन्न थालिएको छ। शब्दविन्यासलाई केलाएर अर्थ खुट्याउने प्रयासमा यस्तो परिवर्तन आएको हो।
नेपाल संवत् ५०० को अमरपोष्टमा विश्वकेतुको समान अर्थ राख्ने शब्द ‘विसिक’ उल्लेख छ। टौमढी टोलमा रहेको नेपाल संवत् ५६१ को यक्षमल्लको शिलालेखमा ‘विश्वजात्रा’ उल्लेख छ। यसैगरी नेपाल संवत ६४१ को भूमिसम्बन्धी तमसुक ताडपत्रमा विश्वकेतुलाई ‘बिसिक’ भनिएको छ। यस्तै भक्तपुर दरबार क्षेत्रको मालती चोकको जितामित्र मल्लको नेपाल संवत ८०८ र भूपतिन्द्र मल्लको नेपाल संवत ८१८ को शिलालेखमा क्रमैले ‘विस्क्यात’ शब्द दिइएको छ। मल्लकालको मध्यतिर पनि बिस्काः जात्रा ख्वप (भक्तपुर) मा ‘ल्योसि थनेगु’ र भैलः द्यः को रथ तान्ने जात्रा समेत चन्द्रमास अनुसार गरिन्थ्यो भनेर उल्लेख गरिएको प्रमाण नेपाल राष्ट्रिय अभिलेखालयस्थित हस्तलिखित ग्रन्थ लगत नं. १६९६, माइक्रोफिल्म नं. ए ३०१ को १२ को पृष्ठ संख्या २ मा प्रमाणित गरिएको लेखक सुभाषराम प्रजापतिले एक आलेखमा उल्लेख गरेका छन्।