९ कार्तिक २०८१, शुक्रबार

ताजा खबर

महँगी र ब्याजदर घट्दैछ, अब अर्थतन्त्रमा सुधार हुन्छ

नागरिक पोष्ट

बिहीबार, २५ माघ २०८०

7685 views

7685 views

महँगी र ब्याजदर घट्दैछ, अब अर्थतन्त्रमा सुधार हुन्छ

काठमाडौं । नेपाल राष्ट्र बैंकले अर्थतन्त्र सही दिशामा रहेको सन्देश प्रवाह गरेको छ । पछिल्लो समय अर्थतन्त्रमा समस्या भएको भन्दै विभिन्न बहस, छलफल तथा चिन्ता व्यक्त गरिरहेको बेला राष्ट्र बैंकले भने अर्थतन्त्र सही दिशामा रहेको र आगामी दिनमा थप सुधार हुने संकेत देखिएको बताएको हो ।
राष्ट्र बैंकले चालु आर्थिक वर्षको ६ महिनासम्मको तथ्यांक सार्वजनिक गर्दै अर्थतन्त्र सुधारको गतिमा रहेको बताएको हो । मुख्य समस्यामा रहेको महँगी घट्दै गइरहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को ६ महिनाको तथ्यांकले महँगी घटेको देखिएको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार २०८० पुस महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.२६ प्रतिशत रहेको छ ।
घिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.२६ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.७७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.८५ प्रतिशत रहेको छ ।

२०८० पुस महिनामा घ्यूतथा तेल, तरकारी, मासु तथा माछा र यातायात उप-समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क घटेको छ । मरमसला र चिनी तथा चिनीजन्य वस्तु उप-समूहको सूचकाङ्कमा समेत क्रमशः कमी आइरहेको अवस्था छ ।

वार्षिक बिन्दुगत आधारमा २०८० पुस महिनामा आयात मूल्य सूचकाङ्क, तलब तथा ज्यालादर र थोक मूल्य सूचकाङ्कको वृद्धि दरमा समेत कमी आएको छ । फलस्वरुप समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीतिमा तुलनात्मक रुपमा कम दबाब पर्न गएको राष्ट्र बैंकको भनाइ छ ।
२०८० पुस महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ३.३६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ९.८२ प्रतिशत रहेको थियो । समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति क्रमशः ६.१६ प्रतिशत, १.९९ प्रतिशत र २.७१ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति १.०८ प्रतिशतले घटेको छ ।

आर्थिक वर्ष २०८०/८१ को ६ महिनामा नेपाल सरकारको कुल खर्च ५ खर्ब ६६ अर्ब ६२ रुपैयाँ करोड भएको छ । सरकारी खर्च गत आर्थिक वर्षको पहिलो ६ महिनामा १३.७ प्रतिशतले वृद्घि भएकोमा, समीक्षा अवधिमा १.७ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा चालु खर्च रु.४३७ अर्ब ३८ करोड, पुँजीगत खर्च रु.४९ अर्ब २४ करोड र वित्तीय व्यवस्था खर्च ८० अर्ब रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) ४ खर्ब ९६ अर्ब ५० करोड भएको छ । गत आर्थिक वर्षको पहिलो ६ महिनामा १५.३ प्रतिशतले घटेको राजस्व, समीक्षा अवधिमा ८.२ प्रतिशतले बढेको छ । यस अन्तर्गत कर राजस्व ४ खर्ब ४३ अर्ब ५५ करोड र गैर कर राजस्व ५२ अर्ब ९५ करोड रुपैयाँ परिचालन भएको छ ।

ब्याज पनि घट्दै

चालु आर्थिक वर्षको ६ महिनामा बैंकको ब्याज घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको ६ महिनासम्म ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर १०.८९ प्रतिशत रहेकोमा २०८० पुसमा ३.३७ प्रतिशत रहेको छ । राष्ट्र बैंकका अनुसार ट्रेजरी बिलको भारित औसत ब्याजदर ६९ प्रतिशतले घटेको छ ।

यस्तै, बैंक तथा वित्तीय संस्थाहरुबीचको अन्तर बैंक कारोबारको भारित औसत ब्याजदर २०७९ पुसमा ७.५३ प्रतिशत रहेकोमा २०८० पुसमा २.८६ प्रतिशत रहेको छ । अन्तर बैंक कारोबारको भारित औसत ब्याजदर ६० प्रतिशतले घटेको छ ।

चालु आवको पुससम्ममा वाणिज्य बैंकहरुको औसत आधार दर ९.३५ प्रतिशत, विकास बैंकहरुको ११.४९ प्रतिशत र वित्त कम्पनीहरुको १२.७७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको पुसमा वाणिज्य बैंकहरुको औसत आधार दर १०.९१ प्रतिशत रहेको थियो । बैंकहरूको आधारदर १४.२९ प्रतिशतले घटेको छ ।

यस्तै, बैंकको निक्षेपको ब्याजदर पनि १४ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । २०८० पुसमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ७.३२ प्रतिशत, विकास बैंकहरुको ८.५५ प्रतिशत र वित्त कम्पनीहरुको ९.६२ प्रतिशत रहेको छ । २०७९ पुसमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ८.५१ प्रतिशत कायम भएको थियो । बैंकमा निक्षेप राखेर ब्याजबाट आम्दानी गर्नेहरूको आम्दानी पनि घट्दै गएको देखिन्छ ।

यस्तै, कर्जाको भारित औसत ब्याजदर २०८० पुसमा वाणिज्य बैंकहरुको ११.३८ प्रतिशत, विकास बैंकहरुको १३.१४ प्रतिशत र वित्त कम्पनीहरुको १४.०९ प्रतिशत रहेको छ । २०७९ पुसमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर १२.७९ प्रतिशत कायम भएको थियो । राष्ट्र बैंकका अनुसार कर्जाको ब्याजदर औसत ११ प्रतिशतले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?