शुक्रबार, ७ चैत्र २०८१
307 views
307 views
पोखरा । म्याग्दीको धवलागिरि गाउँपालिका– २, लुलाङको पाखापानी स्थित नकटेडाँडा नजिकै ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।
लुलाङ–गुर्जा सडक खण्ड अन्तर्गत नकटेडाँडाबाट लुलाङ गाउँतर्फ आउने क्रममा बिहीबार साँझ करिब ५ बजेतिर ग १ त ७१९६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा स्थानीय १८ वर्षे देविन बिक र २१ वर्षे पूर्णलाल रसाइलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए ।
पूर्णलालको घटना स्थलमै मृत्यु भएको हो भने अर्का देविनको लुलाङ स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको हो । ४ जना घाइतेमध्ये २ जना स्थानीय कविराज बिक र कमल विक छन् । मालिका गाउँपालिका–६,दरबाङका विकास बिक र धवलागिरि गाउँपालिका–४,किस्मत बिक समेत घाइते भएका वडाध्यक्ष अकप्रसाद विकले जानकारी दिए । घाइते ४ मध्य १ जनालाई पोखरा ल्याइएको छ भने ३ जनाको बेनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
सडकबाट करिब डेढ सय मिटर तल खसेर ट्याक्टर खोँचमा अड्किएको थियो । वडाध्यक्ष विकका अनुसार, केही जङ्गलमा घुमेर र केही सडक ढलान योजनाको काम गरेर फर्किंदै थिए ।
सोही गाउँपालिका–७,ताकमका २७ वर्षीय राजकुमार सुनारले चलाएको उक्त ट्याक्टरमा ७ जना सवार रहेका थिए । ट्याक्टर दुर्घटनाबारे अनुसन्धान सुरु भएको जिप्रका म्याग्दीले जनाएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी चौकी ताकमबाट प्रहरी साँझ घटनास्थलमा पुगेका थिए । स्थानीय जनप्रतिनिधि ,स्थानीयवासी उद्धारमा खटिएका थिए । लुलाङ दुर्गम गाउँ हो । लुलाङबाट सदरमुकाम बेनी आउन सवारी साधन मार्फत करिब साढे ४ घण्टा लाग्छ ।