शुक्रबार, ७ चैत्र २०८१
2177 views
2177 views
काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा शुक्रबार तीन खेल हुँदैछन्। एपिएफ क्लब र सुदूरपश्चिम प्रदेश, कर्णाली र मधेश प्रदेशसँगै आज गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुन लागेको हो।
एपिएफ र सुदूरपश्मिको खेल सिद्धार्थनगरमा हुँदैछ भने कर्णाली र मधेश भैरहवाको एक्सा ओभल मैदानमा भिड्नेछन्। अर्को खेलमा आर्मी र गण्डकी प्रदेश कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आम्नेसाम्ने हुँदैछन्। तीन वटै खेल बिहान ९ बजे सुरु हुनेछन्।
नेपाल पुलिस क्लब सात खेलमा अपराजित रहँदै १४ अंकका साथ पहिलो स्थानमा छ। दोस्रो स्थानमा रहेको आर्मीले ६ खेल खेलिसकेको छ। एउटा मात्र खेल गुमाएको आर्मीको १० अंक छ।
तेस्रो स्थानमा रहेको लुम्बिनीको सातमा तीन खेल गुमाएर चार खेल जित्दै ८ अंक बनाएको हो। पाँच खेल मात्र खेलेको एपिएफ ६ अंकका साथ चौथो स्थानमा छ। उसले दुई खेल गुमाउँदा तीन खेलमा जित निकालेको छ।
६ खेल खेलेर तीन जित र तीन हारको सामना गरेको कर्णाली ६ अंकसहति पाँचौं स्थानमा छ। मधेश, सुदूरपश्चिम र बागमतीको समान चारचार अंक छ भने कोशी र गण्डकीले ६ खेल खेलिसक्दा दुई अंक मात्र जोडेका छन्।