बिहीबार, २४ माघ २०८१
2143 views
2143 views
काठमाडौं । माघ २५ गतेबाट देशभरको सिनेमाघरहरुमा छाउन लागेको बाल विवाह तथा महिला हिंसाविरूद्ध सन्देश दिने फिल्म ‘जुनाः एक व्यथा’ को टिकट बुकिङ खुल्ला गरिएको छ । जुनाले रिलिजको पहिलो दिन माघ २५ गते शुक्रबार ४० वटा भन्दा धेरै सो पाएको छ ।
क्युएफएक्स, विग सिनेमाज् लगाएत सिनेमा हलहरुमा जुनाले पर्याप्त सो पाएको छ । सिनेमा घरहरुको अनलाइन वेवसाइट, खल्ती , इसेवा लगाएतका अनलाइन प्लेटफर्महरुबाट चलचित्रको टिकट बुक गर्न सकिनेछ
कृष्णप्रसाद धिताल’धिताल चिरिच्याट्ट’ को प्रमुख भुमिका रहेको नेपाली चलचित्र ‘जुना’ को जीवन सेञ्चुरीको निर्देशन रहेको छ । ‘जुनाः एक व्यथा’ मा अस्मिता र कृष्णसहित देशभक्त खनाल, रश्मी भट्ट, कमल बोहोरा, अस्मिता बस्नेत, खगेन्द्र न्यौपाने लगायतको अभिनय छ। गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च प्रालिको व्यानरमा निर्माण भएको फिल्मको निर्माता दीपकप्रसाद घिमिरे हुन्।
निर्देशक सेञ्चुरीले फिल्मले ‘बाल विवाह सामाजिक अपराध हो। त्यसकारण यसलाई अन्त्य गरौं’ भन्ने नारा लिएको बताए।
नेपाली समाजमा व्याप्त महिला हिंसा, बाल विवाह, अनमेल विवाह, बहुविवाह, बलात्कार, जबरजस्ती करणी, छाउपडी जस्ता कुप्रथालाई अन्त्य गर्ने राष्ट्रिय आवश्यकतालाई यस फिल्मको माध्यमबाट सम्बोधन गर्ने प्रयास गरिएको निर्देशक सेञ्चुरीको भनाइ छ।
फिल्ममा राजबहादुर सानेको कथा, बीबी अनुरागी र रमेश सेञ्चुरीको संगीत, जीवन सेञ्चुरी र भीमबहादुर पौडेलको शब्द, अञ्जु पन्त, पूर्णकला बिसी र यदुराई लकान्द्रीको स्वर र रामेश्वर हुमागाईंको डिओपी छ।
यो फिल्म पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसद, विज्ञ, लेखक, समालोचकलगायतले हेरिसकेका छन्। फिल्मको वितरण एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले गर्नेछन्।