शनिबार, १ भाद्र २०८१
2415 views
2415 views
चितवन । सामाजिक क्षेत्रमा सक्रिय एक चिकित्सक दम्पतीले फाउन्डेसन स्थापना गरेका छन् । दन्तरोग विशेषज्ञद्वय डा. अजय न्यौपाने र डा. सरु थापाले ‘डा. अजय एण्ड डा. सरु फाउण्डेसन’ स्थापना गरेका हुन् ।
फाउन्डेसन स्थापनाको जानकारी दिँदै डा. न्यौपानेले स्वास्थ्य, शिक्षा, विपत्, कला संस्कृति, खेलकुदलगायत क्षेत्रमा काम गर्ने बताए ।
हप्ताको सातै दिन दम्पतीले नै काम गरेर त्यहाँबाट भएको आफ्नै आम्दानीले फाउन्डेसनमार्फत सामाजिक काम गर्ने उनले जानकारी दिए ।
वार्षिक १० लाख कोषमा राख्दै जाने र चालु पुँजीका रुपमा यस आर्थिक वर्षमा १० लाख छुट्याएको उनको भनाइ छ ।
आउँदो वर्षबाट कोषको ब्याजमा अरु रकम थपगरी त्यही पैसाबाट फाउन्डेसनले काम गर्नेछ । दश वर्षमा अक्षयकोष एक करोड पुर्याउने लक्ष्य छ । व्याजले अपुग हुँदा आफूहरूले रकम राखेर सामाजिक काम गर्ने दम्पतीको योजना छ ।
फाउन्डेसनले २० विद्यार्थीलाई जनही १० हजारका दरले छात्रवृत्ति दिने, पाँच शिक्षकलाई १०/१० हजारका दरले प्रोत्साहन पुरस्कार दिने योजना छ ।
स्वास्थ्य क्षेत्रमा विपन्नलाई आँखाको उपचार गर्न सहयोग गर्ने, स्वास्थ्य पहुँचमार्फत गाउँगाउँमा पुगेर शिविरमार्फत सेवा दिने, आकस्मिक स्वास्थ्य सहयोग गर्ने लगायत उहाँहरूको योजना छ ।
सुरुका वर्षमा गाउँपालिकामा यी कार्यक्रम सञ्चालन गर्ने योजना फाउन्डेसनको छ । फाउन्डेसनमा आफ्नो कमाई मात्रै प्रयोग गर्ने भन्दै उनीहरूले अन्य दाताको सहयोग नलिने बताए ।