सोमबार, २९ माघ २०८०
7906 views
7906 views
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले १० वर्षसम्मको अवधिका लागि ९.९९ प्रतिशत स्थिर ब्याजदरमा अधिकतम् १२ करोड रुपैयाँसम्म कर्जा उपलब्ध हुने विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण तथा खरिदलाई लक्षित गरी निश्चिन्त आवास योजना (घर कर्जा) सार्वजनिक गरेको हो । साथै, उक्त विशेष घर कर्जा योजना अन्तर्गत अन्य बैंक वित्तीय संस्थाबाट कर्जा उपभोग गरिरहनु भएका महानुभावहरुले सहज रुपमा कर्जा सार्नसमेत सक्नुहुनेछ ।
यस विशेष घर कर्जा योजना अन्तर्गत सेवाग्राहीले १० वर्षसम्मको अवधिका लागि ९.९९ प्रतिशत व्याजदरमा, १० देखि १५ वर्षसम्मको लागि १०.४९ प्रतिशत र १५ वर्षभन्दा बढि अवधिका लागि १०.९९ प्रतिशतको स्थिर ब्याजदरमा १२ करोड रुपैयाँसम्म घर कर्जा लिन पाउनेछन् । बैंकले ग्राहकलाई छिटो, छरितो एवंम सहज रुपमा कर्जा प्रवाह गर्ने उद्देश्यमा निहित रहीे आवश्यक कागजातहरु पेश गरेको २ कार्य दिन भित्र कर्जा प्रवाह गर्नेछ । ग्राहक महानुभावहरुले देशैभरका ७७ वटै जिल्लामा फैलिएको बैंकका ३५६ वटा शाखाहरुबाट यो सुविधा उपभोग गर्न सक्नुहुनेछ । यो योजना सिमित अवधिका लागि रहनेछ । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५६ शाखा कार्यालय, ३७८ एटिएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट ४५ लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।