६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

नागरिकको सुरक्षित र मर्यादित जीवनका लागि  नीति बनाउन सहयोग गर्ने :- मन्त्री सुरेन्द्रराज आचार्य

नागरिक पोष्ट

मंगलवार, १६ आश्विन २०८०

5237 views

5237 views

सबु बस्नेत, काठमाडौँ । विश्वमै ज्येष्ठ नागरिकको जनसङ्ख्या बढिरहेको सन्दर्भमा यस उमेर, समुहका लागि लक्ष्यित गरी नीति ल्याउनुपर्नेमा जोड दिइएको छ । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा आयोजित कार्यक्रममा सरोकारवालाहरूले कमाउन सक्ने युवा विदेशिने र बालबालिका र ज्येष्ठ नागरिकको सङ्ख्या बढिरहेको यसतर्फ नीति कानुनमार्फत नै समस्या सम्वोधन गर्नुपर्ने भन्दै ध्यानाकर्षण गराएका हुन् । महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले  ज्येष्ठ नागरिकको सुरक्षित र मर्यादित जीवनका लागि  नीति बनाउन सहयोग गर्ने बताउनुभयो ।

  राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला कुमारी पराजुलीले सभ्य समाजका लागि महिला, बालबालिका र ज्येष्ठ नागरिकलगायत सम्पूर्ण नागरिकले मर्यादित र सुरक्षित जीवन व्यतित गर्न पाउने वातावरणका लागि नीतिका साथै सामुहिक योगदानको आवश्यकता रहेको बताउनुभयो । उहाँले नेपाली समाजमा ठूलालाई आदर गर्ने,  सानालाई माया गर्ने मुल्यमान्यतामा पछिल्लो समय विचलन आएकोले ज्येष्ठ नागरिक÷महिलामाथि  हिंसा बढिरहेकोमा त्यसको निराकरणका लागि  आयोगले सक्दो प्रयास गरिरहेको बताउनुभयो । 

आयोगका सदस्य कृष्णकुमारी पौडेल खतिवडाले युवा नेपाली विदेसिने प्रचलनका कारण ज्येष्ठ नागरिकले सन्तानबाट आवश्यक सेवा नपाउने र मृत्युपछि पनि वरफको सिरानी राखेर सन्तानको प्रतिक्षा गर्नुपर्ने दुःखद स्थिति रहेको बताउनुभयो । आयोगका सदस्य सावित्रा कुमार शर्माले ज्येष्ठ नागरिकको उमेरसम्म पुग्दा सहज जीवन विताउन पाउने अवस्थाको सिर्जनाका लागि बहसको आवश्यकता रहेको बताउनुभयो ।    

ज्येष्ठ नागरिक महासङ्घका पूर्व अध्यक्ष मदनदास श्रेष्ठले  विदेश जाने र एनआरएन बन्ने होडले ज्येष्ठ नागरिकको हेरचाह, स्याहार गर्ने समयमा सन्तान नहुने तर बुवा आमाको देहबसानपछि सम्पती बेचेर विदेश पलायन हुने स्थिति रहेकोले यसलाई पनि रोक्नुपर्ने बताउनुभयो । उहाँले जीवनभरको कमाईले शिक्षा दिने र विदेश पलायनपछि वृद्ध उमेरमा सन्तानको सेवाबाट बञ्चित नागरिकको सम्पती स्वदेशमै रहने र ज्येष्ठ नागरिककै भलाईका लगानी गर्ने योजना भए ज्येष्ठ नागरिकले उपेक्षित भएर बाँच्नुनपर्ने स्थितिको अन्त्य हुने बताउनुभयो ।

कार्यक्रममा पूर्व सुचना आयुक्त कृष्णहरि बासकोटाले विश्वमै ज्येष्ठ नागरिकको जनसङ्ख्यामा वृद्धि भइरहेको, ज्येष्ठ नागरिकका लागि राज्यले सामाजिक सुरक्षाभत्ताबाहेक विशेष नीति बनाउन पहल गर्नुपर्ने बताउनुभयो । उहाँले ज्येष्ठ नागरिक सम्वन्धी कार्यपत्र प्रस्तुुुत गर्दै काम गर्न सक्ने युवा उमेरमा देशको विविध पक्षको उत्थानका लागि योगदान दिएका ज्येष्ठ नागरिकको स्वास्थ्य, हेरविचारको सेवा, यातायात, मनोरञ्जनलगायतका जिम्मेवारीलाई सहज बनाउन राज्यले ध्यान दिनुपर्ने बताउनुभयो । बास्कोटाले आमा÷बुवाको जिम्मेवारी बहन नगर्ने सन्तानका लागि कार्वाही गर्ने कानुन  बनाउनुपर्ने पनि बताउनुभयो ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?