बुधबार, १२ चैत्र २०८१
1667 views
1667 views
राैतहट । रौतहटको गुजरा नगरपालिकामा पर्ने लामाहा खोलामा निर्माणाधीन पुल लामो समयदेखि अलपत्र अवस्थामा छोडिएपछि स्थानीय बासिन्दा आक्रोशित भएका छन्। निर्माण कम्पनीको लापरबाहीका कारण पुल निर्माण कार्य अधुरो रहेको भन्दै स्थानीय युवाहरूको एक समूहले जिल्ला प्रशासन कार्यालय, रौतहटमा ज्ञापनपत्र बुझाएको छ।
ज्ञापनपत्रमा उल्लेख भएअनुसार, जंगलसहिया हुँदै बालचनपुर जोड्ने सडकखण्ड अन्तर्गत गुजरा नगरपालिकाको कार्यालय देखि १ किलोमिटरको दूरीमा रहेको लामाहा खोलामा दुई वर्षअघि पुल निर्माणका लागि ठेक्का सम्झौता गरिएको थियो। तर, ठेकेदार कम्पनीले पुरानो पुल भत्काएपछि निर्माण कार्य रोकी फरार भएकाले हालसम्म पुल अधुरो रहेको छ।
पुल नबन्दा विद्यार्थी, बिरामी, वृद्ध वृद्धा लगायत सर्वसाधारणलाई आवतजावत गर्न ठूलो कठिनाइ भएको छ। विशेष गरी बर्खाको समयमा खोलामा पानीको सतह बढ्दा यात्रा जोखिमपूर्ण बन्ने गरेको छ। स्थानीयहरू पानीको बहावलाई चुनौती दिँदै जोखिम मोलेर यात्रा गर्न बाध्य छन्।
स्थानीय बासिन्दाका अनुसार पुल निर्माण सम्पन्न गर्न पटक–पटक माग गरिए पनि सम्बन्धित निकायले चासो नदेखाउँदा समस्या यथावत रहेको छ।
सामाजिक अभियन्ता अब्दुल सलामले प्रशासन समक्ष ठेकेदार कम्पनीको गैर-जिम्मेवारपूर्ण कार्यशैलीको छानबिन गरी आवश्यक कारबाही गर्न माग गरेका छन्। साथै, पुल निर्माण कार्य छिटो अघि बढाएर यथाशीघ्र सम्पन्न गर्न र जब सम्म पुल तयार हुँदैन, तब सम्म स्थानीय बासिन्दाका लागि वैकल्पिक मार्ग वा अस्थायी पुलको व्यवस्था गर्न आग्रह गरेका छन्।
ज्ञापनपत्र बुझाइसकेपछि प्रशासनले यस विषयमा आवश्यक प्रक्रिया अघि बढाउने आश्वासन दिएको छ। यद्यपि, स्थानीय बासिन्दाले समस्या समाधानका लागि तुरुन्तै ठोस कदम चाल्न माग गरेका छन्lh