बुधबार, ५ चैत्र २०८१
324 views
324 views
काठमाडाैं, ६ चैत्र । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा आन्तरिक राजस्व विभागले वार्षिक लक्ष्यको ८४ प्रतिशत राजस्व संकलन गरेको छ । विभागका अनुसार साउनदेखि फागुनसम्म ३ खर्ब ४६ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।
गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष ३० अर्ब रुपैयाँ बढी राजस्व संकलन भएको छ । गत वर्ष सोही अवधिमा ३ खर्ब १६ अर्ब ४१ करोड रुपैयाँ संकलन भएको थियो । सरकारको लक्ष्यअनुसार विभागले चालु आर्थिक वर्षमा ४ खर्ब ८ अर्ब ६५ करोड रुपैयाँ राजस्व संकलन गर्नुपर्नेछ ।
यस अवधिमा विभागले १ खर्ब ४५ अर्ब ३४ करोड आयकर, ७५ अर्ब ५७ करोड ६२ लाख अन्तःशुल्क, ८७ अर्ब ५७ करोड भ्याट, १ अर्ब ७० करोड बहाल कर, र २२ अर्ब ५८ करोड ९२ लाख रुपैयाँ ब्याज आम्दानी कर संकलन गरेको छ ।
यस्तै, स्वास्थ्य र शिक्षा क्षेत्रतर्फ लाग्ने कर संकलनमा पनि वृद्धि भएको छ । स्वास्थ्यतर्फ वार्षिक लक्ष्यको ७४ प्रतिशत अर्थात ४ अर्ब ३९ करोड तथा शिक्षातर्फ १३७ प्रतिशत अर्थात २ अर्ब ९ करोड रुपैयाँ कर संकलन भएको विभागले जनाएको छ ।