बुधबार, २८ फाल्गुन २०८१
987 views
987 views
काठमाडौं, फागुन २८ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले ‘नयाँ युगको नयाँ कार्यभार : वैकल्पिक राजनीतिका अवधारणा र आधार’ विषयक अन्तरसंवाद कार्यक्रम आयोजना गरेको थियाे ।
कार्यक्रममा नेपाल समाजवादी पार्टी (नयाँशक्ती) का लेखा आयाेगकाे संयाेजक डा. जनकराज शाहले नेपाल समाजवादी पार्टी (नयाँशक्ती) काे राजनितिक तथा सङ्ठनात्मक प्रतिवेदन (दस्तावेज) प्रस्तुत गर्नु भएकाे थियाे । वैकल्पिक राजनीति, सुशासन, संघीयता, समाजवाद तथा समृद्धिका विषयमा विस्तृत छलफल साथै वर्तमान राजनीतिक अवस्थाबारे समीक्षा गर्दै भविष्यका रणनीति प्रस्तुत गरिएका थिए ।
कार्यक्रममा नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली, नेपाली कांग्रेसका नेता मिजेन्द्र रिजाल, नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्मा लगायतका विभिन्न क्षेत्रका विज्ञहरुकाे सहभागी रहेकाे थियाे । वैकल्पिक राजनीतिबारे आफ्ना विचार प्रस्तुत गर्दै सुशासन र समृद्धिका लागि सहकार्य आवश्यक रहेको वक्ताहरुले बताएका थिए ।
नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले प्रणाली परिवर्तन मात्रले समस्या समाधान नहुने धारणा व्यक्त गरे । ‘प्रणाली परिवर्तन मात्रै समाधान भनेर अगाडि बढ्यौँ भने थप बढी समस्या आउँछ,’ उनले भने । साथै, उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको अवधारणाबारे चर्चा गर्दै थपे, ‘प्रत्यक्ष निर्वाचित राष्ट्रपति एक मात्रै समाधान हो भन्ने तरिकाले बुझ्नु हुँदैन । नेपालजस्तो भूराजनीतिक अवस्था भएको देशमा, त्यो पनि यस्तो पपुलिस्ट हावा चलिरहेको बेला र कुनै पपुलिस्ट शक्ति सत्तामा पुग्दा के हुन्छ भन्ने युक्रेनको तस्बिर हाम्रा सामु छ, यस्तो अवस्थामा प्रत्यक्ष निर्वाचित राष्ट्रपति नै समाधान हो भन्न मिल्दैन ।
नेपाली कांग्रेसका नेता मिजेन्द्र रिजालले नेपालमा प्रत्यक्ष निर्वाचनमार्फत कार्यकारी बनाउने प्रणाली व्यवहारिक नहुने बताए । ‘प्रत्यक्ष निर्वाचनमार्फत कार्यकारी बनाउने कुरा हाम्रो सन्दर्भमा सम्भव छैन,’ उनले भने । नेपालको राजनीतिक संरचना, भूगोल र विविधता हेर्दा यस्तो प्रणालीले समस्या समाधानभन्दा थप जटिलता निम्त्याउने उनले बताए ।
कार्यक्रममा उपस्थित अन्य वक्ताहरूले पनि नेपालमा सुशासन, पारदर्शिता र प्रभावकारी लोकतान्त्रिक अभ्यासका लागि वैकल्पिक राजनीतिको आवश्यकतामाथि प्रकाश पारे । सहभागीहरूले नीति निर्माणमा जनताको प्रभावकारी सहभागिता आवश्यक रहेको भन्दै यस्ता अन्तरसंवाद कार्यक्रमहरू निरन्तर सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।