शनिबार, १९ माघ २०८१
256 views
256 views
स्टोनिया । व्यापार र वाणिज्य प्रवद्र्धन गर्ने उद्देश्यसहित नेपाल–स्टोनिया चेम्बर अफ कमर्स स्थापना हुने भएको छ ।
नेपालका लागि स्टोनियाका अवैतनिक बाणिज्यदूत नवराज दाहाल र ‘इष्टोनिया चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री’ का अधिकारीहरुबीच स्टोनियाको राजधानी तालिनमा भएको छलफलमा यस्तो सहमति भएको हो ।
पर्यटक मेलामा सहभागी हुन स्टोनिया पुगेका दाहालले कमर्सकी निर्यात सेवासम्बन्धी विभागकी संयोजक लिईसी किर्सेनलगायतसँग भेटेका थिए । भेटमा दुई देशबीच व्यापारिक सहकार्य विस्तारका लागि नेपाल–स्टोनिया चेम्बर स्थापना गर्ने सैद्धान्तिक सहमति भएको दाहालले जानकारी दिए । दिल्लीस्थित नेपालका लागि स्टोनियन राजदूत मारिया लुपसँग पनि त्यसबारे कुराकानी भएको र आफू नेपाल फर्किएलगत्तै कमर्सको औपचारिक स्थापना गरिने उनले बताए । ‘कमर्स गठनका लागि अनुमति लिइसकेको छु । नेपालका लागि इस्टेनियन राजदूतले पनि अघि बढौं गर्नुभएको छ’, दाहालले भने, ‘म नेपाल फर्किए लगत्तै नेपाल–स्टोनिया कमर्सको विधिवत गठन हुन्छ ।’
ट्रेकिङ व्यवसायीहरुको छाता संस्था ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) का पूर्वअध्यक्ष समेत रहेका दाहाले छलफलका क्रममा आफूले नेपाल सरकार र निजी क्षेत्रसँगको साझेदारीमा पर्यटन, उद्योग, व्यापार र सूचना प्रविधि क्षेत्र (आईसीटी) मा लगानी गर्न आग्रह गरेको बताए ।
दाहालका अनुसार जवाफमा स्टोनिया चेम्बरका अधिकारीहरुले नेपालको भ्रमण गरी त्यसको सम्भावनाबारे अध्ययन गर्ने बताएका छन् । आईसीटी र साइबर सुरक्षाको क्षेत्रमा अब्बल मानिसएको स्टोनियाले नेपालसँग ‘इ–कमर्स’ को विषयमा सहकार्य गर्न चाहेको उनको भनाई छ । नेपालका लागि निवर्तमान स्टोनियन राजदूत केटरिन किभीले नेपाली उच्च अधिकारीहरुसँगको भेटमा यसअघि नै त्यसबारे प्रस्ताव राखेको भए पनि नेपालको तर्फबाट तत्परता आवश्यक नदेखाइएका कारण काम अगाडि बढ्न नसकेको दाहालको भनाइ छ ।
नेपाल र उत्तरपश्चिमी युरोपेली मुलुक स्टोनियाबीच सन् १९९२ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । नेपाल हेर्ने स्टोनियाको राजदूतावास भारतको राजधानी नयाँदिल्लीमा छ।