मंगलवार, २० कार्तिक २०८१
1395 views
1395 views
पोखरा । सहकारी ठगी र सङ्गठित अपराधको मुद्दामा पक्राउ परेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र गोर्खा मिडिया नेटवर्कका पूर्वसञ्चालक छविलाल जोशीलाई पुनः म्याद थपका लागि कास्की जिल्ला अदालतमा लगिएको छ ।
लामिछानेलाई कास्की जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको गाडीमा राखेर जिल्ला अदालत लगिएको हो ।
कास्की प्रहरीले अनुसन्धानका लागि आज तेस्रो पटक म्याद थपको अनुमति माग्दै छ । अदालतबाट दोस्रो पटक पाएको म्याद कात्तिक १४ गते नै सकिएको थियो । यसबीचमा तिहार बिदा परेका कारण उनलाई आज अदालतमा उपस्थित गराइएको हो ।
लामिछाने सहकारीको रकम अपचलन र सङ्गठित अपराधमा गत कात्तिक २ गते पक्राउ परेका थिए । प्रहरीले लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र सहकारीको रकम अपचलनमा एक साथ अनुसन्धान गरिरहेको छ।
यसैबीच, रास्वपाले आज सभापति लामिछानेको रिहाइको माग गर्दै प्रदर्शन गरेको छ । रास्वपा नेता दीपक बोहराका अनुसार अहिले पोखराको जिरो किलोस्थित घन्टी घरमा रविका समर्थकले वृहत खबरदारी सभा गरिरहेका छन्।
जिल्ला प्रहरी कार्यालय कास्की र सशस्त्र प्रहरीले सो क्षेत्रलाई कडा रूपमा सुरक्षा निगरानी गरिरहेको छ।