शनिबार, २६ आश्विन २०८१
2585 views
2585 views
बैतडी। बैतडीका विभिन्न भगवती मन्दिरमा महाअष्टमीको जात्रा सम्पन्न भएको छ । यहाँका भगवती मन्दिरमा पशुबलिसहित जात्रा सम्पन्न भएको हो । घटस्थापनादेखि महाअष्टमीसम्म यहाँका भगवती मन्दिरमा करिब एक हजार पशुबलि चढाइएको जनाएको छ ।
जिल्लाकै प्रसिद्ध निङ्गलाशैनी मन्दिरमा लागेको अष्टमी मेलामा मात्रै पाँच सय १२ पशुको बलि दिइएको छ । दशरथचन्द नगरपालिका–२ स्थित निङ्गलाशैनी भगवति मन्दिरमा तीन सय १७ राँगा र एक सय ९५ बोकाको बलि दिइएको निङ्गलाशैनी मेला व्यवस्थापन समितिका कोषाध्यक्ष मनोज बोहराले जानकारी दिए ।
पाटन नगरपालिका–६ स्थित उदयदेव मन्दिरमा ३८ राँगा र १२ बोकाको बलि दिइएको छ । मेलौली नगरपालिकामा रहेको मेलौली भगवती मन्दिरमा घटस्थापनादेखि आजसम्म दुई सय २० पशुको बलि दिइएको छ । जसमा एक सय राँगा र एक सय २० बोकाको बलि दिइएको मन्दिर व्यवस्थापन समितका अध्यक्ष नरेश नायकले जानकारी दिए ।
सुर्नया गाउँपालिका–५ स्थित फल्ङासैनी मन्दिरमा २१ वटा पशुको बलि दिइएको छ । बिहीबार राति १४ राँगा र सात बोकाको बलि दिइएको सो गाउँपालिकाका वडा नं ५ का वडाध्यक्ष केशवसिंह बिष्टले जानकारी दिए ।
डिलासैनी गाउँपालिका–५ को कफलासैनी भगवती मन्दिरमा ३० वटा राँगा र ३५ वटा बोकाको गरी ६५ पशुको बलि दिइएको वडा नं ५ का वडा अध्यक्ष यज्ञ भट्टले जानकारी दिए । डिलासैनी–६ को निङ्गलाशैनी भगवती मन्दिरमा २१ राँगा र दुई बोका गरी २३ पशुको बलि दिइएको मेला व्यवस्थापन समितिका सदस्य आँसु मालले बताए ।