७ कार्तिक २०८१, बुधबार

ताजा खबर

पृथ्वीनारायण शाहका सल्लाहकार थिए बिसे नगर्ची

नागरिक पोष्ट

सोमबार, १० भाद्र २०८१

2738 views

2738 views

पृथ्वीनारायण शाहका सल्लाहकार थिए बिसे नगर्ची

काठमाडौं । पृथ्वीनारायण शाह र उनका बुवा नरभूपाल शाहका सल्लाहकार बिसे नगर्चीको विषयमा गहिरो खोज, अनुसन्धान गरि गुमनाम एक इतिहास ‘बिसे नगर्ची’  नामक पुस्तक प्रकाशन भएको छ । मोरङ पथरी शनिश्चरे १ निवासी खोजकर्ता लेखक दीपेन्द्रराज तिम्सिनाले यो पुस्तक लेखेका हुन् ।

बिसेको जन्मस्थल गोरखा पुगेर उनलाई र उनको सन्तान,  छोरालाई दिएको सनदपत्र, लालमोहर , बिसेका सन्तानसहित भेटेर गहिरो अध्ययनसहित यो पुस्तक लेखेको लेखक तिम्सिनाले बताए ।

 


नेपालका पुराना इतिहासकारसँगको सोधखोज गरेर किताब लेखिएको छ । विभिन्न समयमा इतिहासकारहरूले लेखेका ऐतिहासिक दस्तावेजमा पनि बिसेले नुवाकोटमा २ पटक आक्रमण गर्दा हार खाएर चिन्तित पृथ्वीनारायणलाई सही समयमा सही सल्लाह दिई युद्ध जितेको इतिहास पाइन्छ ।


एउटा सही सल्लाहकार भए राज्य बनाउन र युद्ध नै जित्न परे पनि सजिलै सकिन्छ । यही उदाहरण नेपालको इतिहासमा पाइन्छ । यस्तो उदाहरणीय व्यक्ति थिए बिसे नगर्ची । अहिले लोकतन्त्रका शासकका नातेदार, बग्रेल्ती सल्लाहकार राखेका छन् । राखिएका सल्लाहकार विज्ञताको आधारमा नभई आफन्तको आधारमा । स्वकीय सचिव, सल्लाहकारहरूले न सल्लाह दिन्छन् न सल्लाह लिन्छन् अनेक दबाब र प्रभावमा निर्णय गराउने डरलाग्दो बढेको छ । सामान्य अवस्थामा रहेका बिसे नगर्चीले दिएको सल्लाह नै पृथ्वीनारायण शाहलाई युद्ध जित्ने अस्त्र झै बनेको थियो ।

 

 नुवाकोट आक्रमणमा हार व्यहोरेका पृथ्वीनारायण शाह हतियार किन्न चाहन्थे । तर त्यसबेला राज्य कोषमा पैसा थिएन । युद्ध जित्न योद्धा कुशल भएर मात्र हुँदैन हतियार पनि गुणात्मक चाहिन्छ । एकाबिहानै देखि उठेर दरबारमा चिन्तित बनेर टोलाई रहेका पृथ्वीनारायणलाई आमा कौशल्यावतिले देखेर एकदिन बिहान सोधिछन्, ‘छोरा तिमीलाई के भयो’ भनेर ।

त्यसबेला राजा पृथ्वीनारायणले नुवाकोट हार बेहोरेको र थप आक्रमण गर्न हतियार नभएको कुरा आमालाई सुनाएछन् । यो कुरा सुनेर आमाले दरबारमा नगरा बजाउने बिसे नगर्चीलाई भेटेर सल्लाह लिन भनिछन् । सोही अनुसार भोलिपल्ट बिहानै राजा बिसेको घर गएछन् । 

 कस्तो थियो सामरिक महत्त्वको सल्लाह 

राजा एक्कासि घरमा आएको देखेर बिसेले महाराज के कामले मेरो घरमा पालिबक्स्यो भन्दै सोधेछन् । राजाले तिमीलाई थाहा छँदैछ नुवाकोटले हार ब्यहोर्नुपरेको अब लडाइँ लड्नुछ । हात हतियार चाहिएको छ । राज्य कोषमा पैसा छैन कसरी हतियार किन्ने भनेर तिमीसँग सल्लाह लिन आएको तिमी त हाम्रो बुवाको पालादेखि सल्लाह दिँदै आएको सुनेको छु उचित सल्लाह देउ भनेछन् ।

उनले म जस्तोले के सल्लाह दिन सक्छु र भनेछन् । सल्लाह भनेको मान्छे सानो ठूलो पढेको नपढेको भन्ने हुँदैन राजाले भनेछन् ।

बिसेले कति दाम चाहिएको महाराज भनेर राजालाई सोधेछन् । १२ हजार दाम भए त पुग्दो हो राजाले भने । गोरखा राज्यमा कति छन् महाराज बिसेले राजालाई सोधेछन् ।

पुग नपुग १२ हजार घर होलान् राजाले भनेछन् । राजाको यो कुरा सुनेर बिसे घरको कोठामा पसेछन् । कोठाभित्र पसेर बिसेले एक पैसा, पाँच पैसा, गरेर जम्मा गरेर एक मोहर बनाई राजाको हातमा चढाई सोही अनुसार प्रत्येक घरधुरी बाट १-१ रुपैयाँ उठाउन सल्लाह दिएकोले सोहीअनुसार पैसा उठाई काँसी गएर हतियार किनेर ल्याई नेपाल एककीरण सफल भएको जनश्रूति र इतिहासकारहरूले लेखेका छन् ।

राज्य एकीकरणमा उचित सल्लाह दिने नगर्चीलाई राज्यले कस्तो सम्मान दियो, उहाँको परिवार कहाँ कसरी बसिरहेका छन् यो खोज अनुसन्धानको विषय हो । महाकवि लक्ष्मीप्रसाद देवकोटाले भनेझैँ ‘मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन ।’ सल्लाह दिने मान्छे ठूलो, उपल्लो जातको सम्पन्न हुनुपर्छ भन्ने हुँदैन । बिसे नगर्ची दरबारमा नगरा बजाउने, कटुवाल फलाक्ने, दरबारको बालिघरे हुनुहुन्थ्यो ।  तर यस्तो सामरिक सल्लाह दिने बिसेलाई अहिलेसम्म राज्यले सम्मान गरेको छैन ।

विभिन्न युद्धमा बिसेको सहभागिता

पृथ्वीनारायणको पालामा भएको विभिन्न युद्धमा बिसेको सहभागिता रहेको विभिन्न इतिहासकार तथा खोज कर्ताले खोजेको दस्तावेजबाट थाहा हुन्छ ।

नुवाकोट युद्धमा उनी सहभागी भए । तेस्रो पटक नुवाकोट हमलामा सिपाही भएर युद्धमा सामेल भएका थिए ।

नुवाकोट जितिसकेपछि बिसे नगर्ची महाराजसँगै अन्तरिम राजधानी नुवाकोटमै रहने गर्दथे । नुवाकोटको युद्धमा तीनधारे मोर्चाबाट पृथ्वीनारायणसँगै सहभागी भएको कुरा गोरखामा बिसेको सालिकसँगै राखिएको सिलालेखमा उल्लेख छ । त्यसबेला उनी तीनधारे मोर्चाबाट नालदम, अजिरकोट र सिरानचोकको लडाइँमा सहभागी भएको सिलामा उल्लेख छ । त्यसैगरी बिसे स्याङ्जाको लडाइँमा पनि सहभागी भए । 

स्याङ्जाको वहाबकोटमा बिसे नगर्ची चोक नै छ । यो चोकको नामबाट पनि लडाइँमा बिसेको सहभागी रहेको थाहा हुने परियार सेवा समाजले उल्लेख गरेको सिलामा लेखिएको छ ।

परियार समाज, केन्द्रीय समिति तथा सम्पूर्ण परिवार बन्धुहरूले बिसेको शालिकमा राखिएको शिलालेखमा बिसेको जन्म वि.सं. १७४६ र मृत्यु वि.सं. १८२८ मा उल्लेख छ । यसअनुसार उनी ८२ वर्ष बाँचेका देखिन्छ । बिसे नगर्चीले गोरखाली पक्षधर भएर विभिन्न युद्धमोर्चामा भाग लिएका ऐतिहासिक प्रमाणहरू प्राप्त छन् । उनी पृथ्वीनारायण शाहसँग उनकै मोर्चामा रहेर नुवाकोटको युद्धमा सहभागी भए । नुवाकोट विजयपछि उनले नगरा बजाएका थिए ।

यसैगरी गोरखा सिरानचोकको युद्धमा पनि उनी सहभागी थिए, जहाँ गोरखालीले लमजुङेहरूलाई हराएका थिए । बिसेलाई विम्वमा प्रयोग गरि २०६२-२०६३ जनआन्दोलनमा कवि श्रवण मुकारुङले ‘बिसे नगर्चीको बयान’ शीर्षकको कविता ले निकै चर्चा पाएको थियो ।

पुस्तकको प्रकाशक लीला निरौला तिम्सिना थिइन् भने दमक स्रष्टा छापाखानाले छापेको यो पुस्तक १५६ पेजको छ ।

विभिन्न नेपालका इतिहासकारसँग सोधखोज गरी ४९ वटा शीर्षकमा तिम्सिनाले लेखेको यो १२ औँ कृति हो ।

यसअघि तिम्सिनाले टेलिफोन डायरी २०६८ मोरङको सामुदायिक वन एक चिनारी २०६९ मोरङको क्षेत्र नं. २ एक चिनारी २०७९, पथरी शनिश्चरे नगरपालिका एक चिनारी २०७७, जेसीज दस्तावेज विगतदेखि वर्तमानसम्म प्रथम संस्करण २०७७, जेसीज दस्तावेज विगतदेखि वर्तमानसम्म दोस्रो संस्करण २०७८, धिमाल जातिको इतिहास विगतदेखि वर्तमानसम्म २०७८, इतिहासमा पथरी शनिश्चरे २०७८  मोरङका जनप्रतिनिधि संगालो २०७९, माइखोलादेखि पुनर्वाससम्म २०८० र तिमिल्सिना इतिहास विगतदेखि वर्तमानसम्म २०८० लगायत पुस्तक लेखेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?