७ कार्तिक २०८१, बुधबार

ताजा खबर

संविधान संशोधनमा देउवा-नेपाल जुहारी

नागरिक पोष्ट

बुधबार, ५ भाद्र २०८१

1650 views

1650 views

संविधान संशोधनमा देउवा-नेपाल जुहारी

काठमाडौं । संविधान संशोधनमा बहस सुरु भएको छ । दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले संविधान संशोधनसहित सातबुँदे सहमति गरेर गठबन्धन गरेपछि उनीहरू संघीयदेखि प्रदेशसम्मको सरकारको नेतृत्वमा छन् ।


विपक्षमा पुगेका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)सहितका विपक्षी दलले दुई दल मिल्दैमा संविधान संशोधन असम्भव रहेको भन्दै कांग्रेस र एमालेले भनेजस्तै संशोधनमा सहमति नहुने बताइरहेका छन् ।

राजधानीमा मंगलबार कांग्रेस नेता प्रदीप गिरीको द्वितीय स्मृतिमा आयोजित विमर्श कार्यक्रममा समेत संविधान संशोधनको बहसले प्राथमिकता पाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान संशोधनको विषय उप्काउ“दै गर्दा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले ‘फरक मत’ राखेका छन् ।

कांग्रेस र एमालेबीचमा भएको संविधान संशोधनसहितको सातबुँदे सहमतिमा शंका नगर्न सभापति देउवाले आग्रह गरे । तर, आफ्नो मन्तव्य राख्ने क्रममा एकीकृत समाजवादीका अध्यक्ष नेपालले मध्यरातमा दुई दलले सहमति गर्दैमा संविधान संशोधन सम्भव नभएको भन्दै आफूहरूको असहमति रहने बताए ।

यसअघि, पार्टीको बैठकदेखि सार्वजनिक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धि उल्ट्याउनेगरी हुने संविधान संशोधनमा कुनै सहमति नहुने भन्दै त्यसविरुद्ध सडकदेखि सदनसम्म आन्दोलन गर्ने चेतावनी दि“दै आएका छन् ।

प्रचण्डले हालै जारी गरेको पार्टी निणर्यको परिपत्रमा एमाले र कांग्रेस मिलेर मुलुकलाई २०४७ सालतिर लैजान खोजेको भन्दै त्यसका विरुद्धमा हुने आन्दोलनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । नेपाल र प्रचण्डको आवाज कांग्रेस र एमालेले भनेजस्तै संविधान संशोधनमा सहमति नहुने र जबर्जस्ती गरिए त्यसका विरुद्ध आन्दोलनमा होमिने देखिन्छ ।

‘ओलीजी र मबीच भएको सहमतिमा कुनै शंका, उपशंका नगर्दा पनि हुन्छ, हामीले संविधान संशोधन भनेका छौं, त्यसमा दुईवटा पार्टी मिलिसक्यौं, अरू पार्टीको खिलाप हुँदै होइन,’ कांग्रेस सभापति देउवाले भने, ‘यो सोचविचार नै गरिएको सहमति हो ।’

देउवाले माओवादी, एकीकृत समाजवादीलगायतका दलहरू पनि एकठाउँमा आउनुपर्ने बताए । राजनीतिक स्थायित्वका लागि संविधान संशोधन आवश्यक रहेको बताउँदै उनले सबै मिलेर अगाडि बढ्नुपर्ने बताए ।

तर, एकीकृत समाजवादी अध्यक्ष नेपालले भने गर्नुपर्ने सबै काम खुला बहसबाट गर्नुपर्ने बताए । साथै, उनले मध्यरातमा दुई नेताले हस्ताक्षर गरेर देशमा केही नहुने ठोकुवासमेत गरे । ‘हामीले मुलुकमा जेजे गर्नु छ, त्यो खुला बहसबाट गर्नुपर्छ, सबैभन्दा पहिले आफूले गरेका गल्तीहरू हेर्नुपर्छ र बहसको प्रारम्भ गर्नुपर्छ, मध्यरातमा दुईवटा नेताले हस्ताक्षर गरेर हुनेवाला केही छैन,’ अध्यक्ष नेपालले भने, ‘खुला बहसको कुरा गर्नुपर्छ, कहिल्यै बहसको कुरा नल्याउने तर मध्यरातमा गएर हस्ताक्षर गर्ने, मलाई यो कुरा गर्न मन थिएन, तर यहाँ सन्दर्भ आयो ।’

उनले राजनीतिमा स्वच्छता नभएसम्म जनताका लागि केही गर्न नसकिने बताए । ‘राजनीतिमा निष्ठा र नैतिकताको विषय छ । तर, कताकता एउटा विषय छुटेजस्तो लाग्यो, निष्ठा, नैतिकता छ, एउटा अर्को पनि राखिदिएको भए हुन्थ्यो जस्तो लागिरहेको छ-त्यो हो स्वच्छता,’ नेपालले भने, ‘जबसम्म हामीमा स्वच्छ आचरण हुँदैन, स्वच्छता हुँदैन, निष्ठा हुँदैन, सर्मपण हुँदैन र नैतिक आचरणले स्वच्छता पाउँदैन तबसम्म जनता र देशका लागि समर्पित भएर अघि बढ्न सक्दैनौं ।’

कार्यक्रममा कांग्रेस सभापति देउवा, एकीकृत समाजवादीका अध्यक्ष नेपालसहित एमाले महासचिव शंकर पोखरेल, माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का महासचिव डा. सुरेन्द्र झालगायतका नेताहरू सहभागी थिए ।

कार्यक्रममा एमाले महासचिव पोखरेलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अस्वीकार गरेका कारण राष्ट्रिय सहमतिको सरकार बन्न नसकेको बताए । आफूहरूले राष्ट्रिय सहमतिको सरकार गठनको प्रयासस्वरूप कांग्रेससँग सहमति गरेको र सोहीनुसार माओवादीसँग प्रस्ताव गर्दा प्रचण्डले नमानेको पोखरेलले बताए ।

‘हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओली र आदरणीय शेरबहादुर देउवाबीच सहमति भएपछि हामीले त्यसलाई तत्काल बाहिर नल्याउने समझदारी ग-यौं, त्यो प्रचण्डजीलाई पनि साथमा लिएर राष्ट्रिय सहमतिको सरकार गठनका लागि थियो,’ पोखरेलले भने, ‘त्यसैका लागि भोलिपल्ट बिहानै केपी ओली प्रचण्डलाई भेट्न बालुवाटार जानुभएको थियो, उहाँले मान्ने अवस्था भएन, त्यसपछि जे सहमति भयो, त्यसलाई हामीले संसद्मै प्रस्तुत गर्ने समझदारी बन्यो, यदि प्रचण्डजी तयार भएको भए दुई पार्टीको सहमति तीन पार्टीबीचको सहमतिका रूपमा बदलिन्थ्यो, एउटा नयाँ यात्रा सुरु हुन्थ्यो ।’

लोसपा महासचिव झाले कांग्रेस सभापति देउवालाई छैटांैपटक प्रधानमन्त्रीको आकांक्षाले वर्तमान गठबन्धनको भविष्य तलमाथि नपारिदिन अनुरोध गर्दै व्यंग्य गरे । उनले प्रधानमन्त्री बन्न भन्दा पनि इतिहास निर्माणको बाटोमा अघि बढ्न सभापति देउवालाई अनुरोध गर्दै भने, ‘तपाईं मेरो अभिभावक पनि हो, शेरबहादुर देउवालाई अनुरोध छ, अब तपाई छैटौंपटक प्रधानमन्त्री होइन, इतिहास निर्माण गर्नुहोस्, कुनै चिजको आशक्ति राखेर यो गठबन्धन असफल नबनाउनोस् ।’ - DCNepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?