७ कार्तिक २०८१, बुधबार

ताजा खबर

धरानमा खानेपानी महसुल वृद्धिको निर्णय फिर्ता, तीन बुँदे सहमति

नागरिक पोष्ट

सोमबार, २८ श्रावण २०८१

2568 views

2568 views

धरानमा खानेपानी महसुल वृद्धिको निर्णय फिर्ता, तीन बुँदे सहमति

धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राई खानेपानी महसुल वृद्धिको निर्णयबाट पछि हटेका छन् ।

महसुल वृद्धि विरुद्ध आन्दोलनरत १० राजनीतिक दलको संयुक्त सङ्घर्ष समिति र धरान खानेपानी व्यवस्थापन बोर्डका अध्यक्षसमेत रहेका मेयर साम्पाङबीच आइतबार करिव ८ घण्टा लामो छलफल र वार्तापछि महसुल वृद्धिको निर्णय फिर्ता भएको छ ।


दुई पक्षीय वार्तापछि तीन बुँदे सहमति गर्दै खानेपानी महसुलको पुरानो दर यथावत राखेर पुनर्विचार गर्ने सहमति भएको छ ।

खानेपानी महसुलमा गरिएको वृद्धि तत्काललाई स्थगित गर्ने, खानेपानी बोर्डको पूर्णताबारे उच्च अदालतको फैसला मान्ने र सात दिनभित्र बोर्डको हिसाब सार्वजनिक गर्ने सहमति भएको छ ।


वार्ता र सहमतिपछि आन्दोलनरत पक्षलाई सङ्क्षिप्त सम्बोधन गर्दै मेयर साम्पाङले एसियाली विकास बैंकलाई तिर्नुपर्ने ऋणको दायित्व भएकाले महसुल वृद्धि गर्नुपरेको बताएका थिए ।

यही साउन १ गतेदेखि लागू हुनेगरि खानेपानी महसुल र अन्य शुल्क वृद्धि गरेको सूचना सार्वजनिक भएपछि साउन ११ गतेदेखि आन्दोलनरत पक्षले खानेपानी काउण्टरहरुमा तालाबन्दी गरेका थिए ।

धरान उपमहानगरपालिकाको प्रवेशद्वारमा राखिएको बोर्ड समेत आन्दोलनरत पक्षले तोडफोड गरेका थिए । शुल्क वृद्धि फिर्ताको सहमतिसँगै आन्दोलनका कार्यक्रम स्थगित भएका छन् ।

दलहरूसँग वार्ता र सहमति भएसँगै खानेपानी तथा सरसफाइ महसुल सेवा निर्धारण आयोगले धरान खानेपानी व्यवस्थापन बोर्डलाई पुनः दुई दिनभित्र महसुल वृद्धिको सम्पूर्ण विवरण पठाउन अनुरोध गर्दै पत्राचार गरेको छ ।

आयोगले खानेपानी मन्त्रालय, सुनसरी जिल्ला प्रशासन कार्यालय, दातृ निकाय एशियाली विकास बैंक (एडीबी) र नगर विकास कोषलाई बोधार्थ दिएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?