बुधबार, २३ श्रावण २०८१
3435 views
3435 views
काठमाडौं । संघीय संसद अन्तर्गत आज विभिन्न चारवटा समितिका बैठक बस्दैछन् । आज कानून, न्याय तथा मानवअधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागेको हो ।
कानून, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने बताइएको छ । बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सम्बन्धमा संशोधन प्रस्तावकर्ता सदस्यहरुसँग छलफल गर्ने कार्यसूची छ । यस्तै, केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफल हुनेछ ।
यस्तै, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा नेपालको अधिकांश ग्रामीण क्षेत्रमा बाँदर, बँदेल, दुम्सी, निलगाई लगायत जंगली जनावरबाट कृषि बालीमा भइरहेको क्षति, मानव वस्तीमा भइरहेको अतिक्रमण र बाघ, भालु, हात्तीलगायतका जनावरको आक्रमणबाट मानिसको ज्यानै लिने गरी मानव जनधनमा भइरहेको अपूरणीय क्षतिका सम्बन्धमा सरोकारवालासँग छलफल गर्ने कार्यक्रम छ ।
यसैगरी, पूर्वाधार विकास समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा जलस्रोत विधेयक, २०८१ मा संशोधनकर्ता सदस्यहरुसँग छलफल हुनेछ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो साढे १२ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची रहेको छ ।