बुधबार, ९ श्रावण २०८१
2602 views
2602 views
काठमाडौँ । संघीय संसद अन्तर्गत आज सातवटा समितिका बैठक बस्दैछन् । आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, कानून, न्याय तथा मानवअधिकार, राज्य व्यवस्था तथा सुशासन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति तथा संसदीय सुनुवाइ समिति (संयुक्त) का बैठक बस्न लागेका हुन् ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा नेपाल सरकारले पछिल्लो समय छिमेकी मित्र राष्ट्रहरूसँग गरेको सन्धि–सम्झौताहरुको विवरण र हालसम्मको कार्यप्रगति तथा मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयमा छलफल हुने कार्यसूची छ ।
यस्तै, बिहान ११ बजे सिंहदरबारमा बस्ने कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफल हुनेछ ।
यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिको ११ बजे सिंहदरबारमा बस्ने बैठकमा समितिमा प्राप्त विधेयकहरुका सम्बन्धमा छलफल गरिने छ ।
पूर्वाधार विकास समितिको बैठकमा समितिमा प्राप्त उजुरीहरूमा छलफल हुनेछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ ।
यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक ११ बजे बस्दैछ । बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल गर्ने तयारी छ ।
उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको ३७औँ बैठक बिहान साढे ११ बजे बस्ने छ । बैठकमा विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा सरोकारवालासँग छलफल गर्ने कार्यक्रम छ ।
आज संसदीय सुनुवाइ समितिको बैठक पनि बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने बैठकमा निर्वाचन आयुक्त पदमा प्रस्तावित व्यक्तिको सुनुवाइ गर्ने कार्यसूची छ । आज आयोगका प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानमाथि संसदीय सुनुवाइ हुने छ ।