१० कार्तिक २०८१, शनिबार

ताजा खबर

अध्यादेशबाट बजेट आउने सम्भावना: नेपालमा अध्यादेशको बजेट १० पटक आएको इतिहास यस्तो छ

नागरिक पोष्ट

शनिबार, १२ जेष्ठ २०८१

7413 views

7413 views

अध्यादेशबाट बजेट आउने सम्भावना: नेपालमा अध्यादेशको बजेट १० पटक आएको इतिहास यस्तो छ

काठमाडौं ।  नेपालमा अध्यादेशको बजेट  १० पटक आएको इतिहास छ । आर्थिक वर्ष २०८१/८२ मा पनि अध्यादेशबाट बजेट आउने सम्भावना देखिएको छ । संसदमा सहकारी प्रकरणले सत्तापक्ष र नेपाली कांग्रेसको सम्बन्ध चिसिएको छ ।

वैशाख २८ गते शुरु भएको बजेट अधिवेशन कांग्रेसका सांसदहरूले लगातार अवरुद्ध गरिरहेका छन् । सहकारी ठगी प्रकरणमा नाम जोडिएको भन्दै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेबारे संसदीय छानबिन समिति बनाएर अघि बढ्नुपर्ने विपक्षी दलहरूको मागका कारण संसद अवरोध कायमै रहँदा बजेट स्वाभाविक र नियमित प्रक्रियाबाट आउला र भन्ने शंका पैदा भएको छ ।

कांग्रेसका प्रवक्ता रहेका पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले सत्तापक्षले बजेट अध्यादेशबाट ल्याउन खोजिरहेको बताए । यद्यपि बजेट ल्याउन दिने/नदिने विषयमा पार्टीभित्र छलफल नभएको उनले बताए ।

नेपालले १० पटक पाएको थियो अध्यादेशको बजेट

यदि यो पटक पनि अध्यादेशमार्फत बजेट पेश भए अध्यादेशको बजेट ११ औं हुनेछ ।

सबैभन्दा पहिला प्रजातन्त्रको पुनर्बहालीपछि आर्थिक वर्ष २०४७/४८ मा तत्कालीन अर्थमन्त्री डा. देवेन्द्रराजले अन्तरिम बजेट ल्याएका थिए । उनले २०४७ साल असारमा बजेट सार्वजनिक गरेका थिए । त्यस बखत उनले प्रधानमन्त्रीलाई सम्बोधन गरेर बजेट प्रस्तुत गरेका थिए ।

दोस्रो पटक आर्थिक वर्ष २०५१/५२ मा महेश आचार्यले पनि अध्यादेशमार्फत नै बजेट ल्याए । २०५१ साल असार २७ गते प्रतिनिधिसभा विघटन भएपछि असार ३१ मा अध्यादेशबाट बजेट ल्याइएको हो । यो साल दुई पटक बजेट आयो ।

आर्थिक वर्ष २०५२/५३ मा भरतमोहन अधिकारीले अध्यादेशमार्फत बजेट ल्याइसकेका छन् ।

आर्थिक वर्ष २०५९/६० मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा संसद भंग भएपछि पनि अध्यादेशबाट बजेट ल्याइएको थियो । त्यति बेला मधुकर शमशेर राणाले बजेट ल्याएका थिए ।

आर्थिक वर्ष २०६०/६१ को बजेट पनि अध्यादेशबाटै आयो । यो वर्ष पनि संसद विघटनकै अवस्थामा थियो । राजाको प्रत्यक्ष शासन चलिरहेको यो वर्ष रूप ज्योतिले बजेट ल्याएका थिए ।

आर्थिक वर्ष २०६१/६२ मा पनि भरतमोहन अधिकारीले अध्यादेशबाट बजेट ल्याए । एमाले पार्टीको सरकारका तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेले पनि आर्थिक वर्ष २०६७/६८ को बजेट अध्यादेशबाट नै ल्याए । आर्थिक वर्ष २०६७/६८ मा पाण्डेले संसदमा बजेट प्रस्तुत गर्न खोज्दा अवरोध भएपछि सरकारले संसद अधिवेशन अन्त्य गरी अध्यादेशबाट बजेट ल्याएको थियो ।

यस्तै आव २०७०/७१ को बजेटसमेत अध्यादेशबाट ल्याइएको थियो । त्यस बेला शङ्करप्रसाद कोइरालाले बजेट ल्याएका थिए ।

आर्थिक वर्ष २०७८/७९ को बजेट पनि अध्यादेशबाट ल्याइएको थियो । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले उक्त बजेट ल्याएका हुन् । ३४ वर्षे संसदीय इतिहासमा १० पटक अध्यादेशमार्फत बजेट आइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?