६ मंसिर २०८१, बिहीबार
ताजा खबर

गर्मी बढेसँगै मधेशका विद्यालयको पठनपाठन प्रभावित

नागरिक पोष्ट

बुधबार, १९ बैशाख २०८१

8161 views

8161 views

गर्मी बढेसँगै मधेशका विद्यालयको पठनपाठन प्रभावित

रौतहट । चालीस डिग्रीभन्दा बढी तापक्रम हुन थालेपछि मधेशको जनजीवन प्रभावित हुन थालेको छ । सबैभन्दा बढी बालबालिकालाई प्रभाव पर्न थालेको देखिएको छ ।

अत्यधिक गर्मी र तातोले घरबाहिर हिँड्न मुस्किल हुन थालेपछि मधेश प्रदेशका केही पालिकाले विद्यालयको समय परिवर्तन गरेका छन् भने केहीले पठनपाठन नै बन्द गरेका छन् । 


सर्लाहीको हरिवन नगरपालिकाले शनिबारसम्म पालिकाका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

अत्यधिक गर्मी बढेर बालबालिकाको स्वास्थ्यमा असर पर्न थालेपछि शनिबारसम्मको लागि पालिकाका सबै विद्यालय बन्द गरिएको शिक्षा शाखाका प्रमुख एवं शिक्षा अधिकृत रुस स्टालिन चौलागाईँले जानकारी गराएका छन् । 


हरिवन नगरपालिकाभित्रका सबै सामुदायिक, संस्थागत र धार्मिक विद्यालय शनिबारसम्म बन्द गर्ने नगर शिक्षा समितिको निर्णय भएको चौलागाईँले सार्वजनिक गरेका छन् । 

यसै गरी  पर्साको वीरगञ्ज महानगरपालिकाले पनि विद्यालयको समय परिवर्तन गरी बिहानको समयमा कक्षा सञ्चालन गर्न सूचना जारी गरेको छ । विद्यालयको पठनपाठनको कूल समयमा फरक नपर्ने गरी बिहानको सत्रमा कक्षा सञ्चालन गर्न महानगरपालिकाले सूचना जारी गरेको हो ।

अत्यधिक गर्मीले विद्यालयको छानो तातो हुने गरेको तथा कतिपय विद्यालयमा जस्ताको छानो हुँदा भित्र बस्ने नसक्ने अवस्था सिर्जना भएकोले बिहानको समयमा कक्षा सञ्चालन गर्न धेरैतिरबाट सुझाव दिइएको छ । 

बिहानको दश बज्दा नबज्दै कक्षाकोठामा तातो हावा पस्न थाल्ने गरेको तथा सबै बालबालिकालाई शीतल खानेपानीको साथै गर्मीबाट जोगिन बिजुली र पंखाको व्यवस्थापन सबै विद्यालयमा सम्भव नहुनाले विद्यालयहरूलाई गर्मी चर्किनु अगावै घर पठाउन थालिएको हो ।

मधेशका अधिकांश विद्यालयमा बैशाखदेखि असारसम्म बिहानी सत्रमा कक्षा सञ्चालन हुने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?