७ कार्तिक २०८१, बुधबार

ताजा खबर

चतराधाममा ‘बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ’ मेलाको तयारी पूरा

नागरिक पोष्ट

शुक्रबार, २३ चैत्र २०८०

11731 views

11731 views

चतराधाममा ‘बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ’ मेलाको तयारी पूरा

सुन्दरहरैँचा । सुनसरीको बराहक्षेत्र नगरपालिकास्थित प्राचीन हरिद्वार चतराधाम कुम्भनगरीमा आयोजना हुने लागेको बाह्र वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाको तयारी पूरा भएको छ ।

धार्मिकस्थल चतराधाममा यही चैत २७ देखि आगामी वैशाख २८ गतेसम्म सञ्चालन हुने सो महाकुम्भ मेलामा ३० लाखभन्दा बढी भक्तजनको सहभागिता रहने अनुमान गरिएकाले उनीहरूको व्यवस्थापन र सुरक्षाको राम्रो प्रबन्ध गरिएको छ मेला मूल आयोजक समितिले जनाएको छ ।


धार्मिक परम्परा तथा तीर्थाटनका हिसाबले महत्त्वपूर्ण रहेको सो महाकुम्भ मेलामा धेरैजसो नेपाल र भारतका भक्तजन सहभागी हुने भएका छन् । आध्यात्मिक हिसाबले अत्यन्त महत्त्वपूर्ण मानिएको सुनसरी बराहक्षेत्रको प्राचीन हरिद्वारा चतराधाममा हरेक १२ वर्षमा एक महिने पूर्ण महाकुम्भ मेला लाग्ने गरेको छ ।

पहिले भारतमा यो कुम्भमेला लाग्दै आएकामा नेपालका प्रथम जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यको पहल र परिकल्पनामा विसं २०५९ देखि नेपालमै यो सुरु भएको हो । पुराणमा उल्लेख भएअनुसारको स्थान चतराधाममा हरेक १२ वर्षमा यो महाकुम्भ मेलाको आयोजना हुने गरेको छ ।


जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले कुम्भ मेलाबाट नेपाल र नेपालीबीचको एकता तथा धार्मिक सद्भावको विकास एवं अभिवृद्धि हुने हुँदा देश–विदेशबाट कुम्भमेलाको दर्शनका लागि चतरा आउने भएकाले पनि यसको महत्त्व बढ्दै गएको उल्लेख गरे । हिन्दू वैदिक सनातन धर्ममा अति पवित्र र पुण्य भूमिका रूपमा उल्लेख भएको यस चतराधाममा आयोजित यस महाकुम्भमा सहभागी भएर अधिक पुण्य कमाउन स्वदेश तथा विदेशका सबै नागरिकलाई उनले आह्वान पनि गरे ।

कुम्भमेलामा कोटिहोम, वेद पुराण पाठपरायण, आफ्ना इष्टदेवताहरूको पूजन तथा यजन गर्ने, निराहार बसी व्रत गर्ने र महाकुम्भमा स्नान गर्ने आदि गरिन्छ । यस महान् अनुष्ठान एवं मेलामा स्वदेश तथा विदेशका जगद्गुरु, शङ्कराचार्य, धर्माचार्यको सहभागिता र उनीहरुको प्रवचन, भजनकीर्तन, शास्त्रार्थ सम्मेलनलगायत महास्नान हुने गर्दछ ।

बाह्रकुम्भमध्ये नेपाललगायत भारतका प्रयाग, नासिक, उज्जैन र हरिद्वारमा कुम्भमेला लाग्ने गर्दछ । यसले हाम्रो देशमा छायामा पर्दै गएको धर्म, संस्कार र संस्कृतिको पुनः उत्थान गरेको जगद्गुरु बालसन्त मोहनशरण देवाचार्य बताउँछन् ।

अघि समुद्र मन्थनजस्तो साहै कठिन कार्य शुभारम्भ भयो, त्यस बेला अमृतको सट्टा हलाहल विष निस्कियो । त्यस्तो बिघ्न बाधा आउँदा पनि त्यसबाट पछि नहटी डटिरहँदा कार्य सफल भई अमृतको घडा उत्पत्ति भएपछि त्यही अमृत सही व्यक्ति र क्षेत्रमा सर्वप्रथम स्थापित भएको आधारमा चताराधाममा महाकुम्भ महोत्सवको आयोजना गर्ने गरिएकाले यसको धेरै ठूलो धार्मिक एवं शास्त्रीय विधि र मान्यता रहेको जगद्गुरु देवाचार्य बताउँछन् ।

नेपालको वैदिक सनातन धर्मको संरक्षण र संवर्धनका साथै नेपाल र नेपालीको छुट्टै पहिचान कायम गर्न र नेपालका पवित्र तीर्थस्थलहरूको थप प्रचारप्रसार गरी तिनको उजागर गर्न यस महाकुम्भ मेलाको ठूलो महत्त्व रहेको उनको भनाई छ । त्यसैले १२ वर्षमा मात्र आयोजना हुने यस महान् अभियान तथा अनुष्ठानमा सहभागी भई पुण्य कमाउन उनले सबैसँग आग्रह गरे ।

यहाँ प्रत्येक छ वर्षमा कुम्भमेला र १२ वर्षमा पूर्णमहाकुम्भ मेला लाग्ने गरेको छ । नेपालमा प्रथम पिण्डेश्वर कुम्भमेला महोत्सवका रूपमा जगदगुरु देवाचार्यको परिकल्पना र सक्रियतामा २०५९ साल चैत ६ गतेदेखि एक महिनासम्म सञ्चालन भएको थियो । त्यसयता चताराधाममा प्रत्येक छ वर्षमा कुम्भ मेला र १२ वर्षमा महाकुम्भ मेलाको आयोजना हुने गरेको छ ।

यस मेलालाई भव्यताका साथ सम्पन्न गर्न बराहक्षेत्र नगरपालिका सक्रिय रहेको छ । यस धार्मिक मेलाका हरेक क्रियाकलापमा बराहक्षेत्र नपा गम्भीरतापूर्वक लागेको बराहक्षेत्र नगरपालिकाका नगरप्रमुख रमेश कार्कीले जानकारी दिए ।

मेलाका लागि सरसफाइ, पन्डालको निर्माण, प्रचारप्रसार, विद्युत् तथा सञ्चार सुविधा, शान्ति सुरक्षा तथा विपद् जोखिम न्यूनीकरण तयारीहरू भएका उनले जानकारी दिए । मेला अवधिभर चतरामा मदिरा तथा मासुजन्य पदार्थको बिक्री वितरण निषेध गरिएको पनि नगरप्रमुख कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?