बिहीबार, १० फाल्गुन २०८०
9198 views
9198 views
काठमाडौं । नेपाली कांग्रेसको जारी महासमितिको बैठकमा प्रस्तुत भएका ४ वटा प्रस्तावहरु पारित भएका छन् । समापनसत्रमा महामन्त्री गगनकुमार थापाले ती प्रस्तावहरु हल समक्ष प्रस्तुत गरेका थिए । महासमिति बैठकमा प्रस्तुत भएका सांगठनिक, राजनीतिक, नीति तथा लेखासम्बन्धी प्रस्ताव पारित भएको हो । सो क्रममा महासमिति सदस्यहरुले त्यसलाई ताली पिटेर अनुमोदन गरेका थिए ।
गत फागुन ७ गतेदेखि सुरु भएको कांग्रेसको महासमिति बैठकमा महामन्त्री गगनकुमार थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक, उपप्रधानमन्त्री समेत रहेका पार्टी उपसभापति पूर्णबहादुर खड्काले नीति सम्बन्धी र केन्द्रीय सदस्य श्यामकुमार घिमिरले पेश गरेको लेखासम्बन्धी प्रस्ताव पारित भएको हो ।
नेपाली कांग्रेसको जारी महासमिति बैठकमा धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दु राष्ट्र नेपाल निर्माणसम्बन्धी प्रस्ताव पेश भएको छ ।
फागुन ७ गतेदेखि जारी बैठकमा सो प्रस्तावका पक्षमा एक हजार ६३ जना महासमिति सदस्यले हस्ताक्षर गरेका छन् । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी महासमिति बैठकमा सनातन हिन्दुराष्ट्र नेपाल स्थापना महाअभियानले हस्ताक्षर सुरु गरेको थियो ।
अभियानका संयोजक शङ्कर भण्डारीले केही समयअघि महासमिति बैठकमा उक्त प्रस्ताव प्रस्तुत गरेका हुन् । उनले सो प्रस्तावको आवश्यकता र औचित्यबारे महासमिति बैठकमा जानकारी गराई पार्टी सभापति शेरबहादुर देउवालाई प्रस्ताव बुझाएका थिए ।