बुधबार, ३ माघ २०८०
13227 views
13227 views
शर्मिला विश्वकर्मा, ललितपुर । नेपाल अपाङ्ग महिला संघ नेपालले माघ ३ गते ललितपुरमा अपाङ्गता भएका व्यक्तिहरू तथा महिलाहरूका सवालहरूलाई समावेश गरी अपाङ्गता र समावेशी विकास सम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । यस छलफल कार्यक्रममा आयोजक संस्था नेपाल अपाङ्ग महिला संघकी अध्यक्ष टिका दाहालले पछिल्लो समयमा अपाङ्गतालाई कानुन, नीति र अधिकारले सम्पन्न बनाएको, संविधानमा पनि अपाङ्गतालाई संवोधन गरिएको तर पनि समाजमा अझै पनि अपाङ्गतालाई पूर्ण रूपमा बुझ्न नसकेको बताउनु भयो । साथै उहाँले समाजमा अपाङ्गतालाई अझै पनि विकाससँग जोड्न नसकेको भन्दै विभिन्न सरोकारवाला निकायहरूले अपाङ्गताका सवाललहरुलाई समावेश गर्दै विश्वव्यापी ढाँचा अनुसार संरचना निर्माण गर्न जरुरी रहेको बताउनु भयो ।
त्यसै गरी उपाध्यक्ष मिना पौडेलले समाज तथा सरोकारवाला निकायहरूले पछाडी पारिएका व्यक्तिहरूको सवाललाई पहिचान गर्दै अपाङ्गताको विविधतालाई स्वीकार गर्नु पर्ने, सबै निकायहरूमा अपाङ्गता भएका व्यक्तिहरू विना अवरोध पहुँचयुक्त रूपमा जान सक्ने वातावरणको सृजना गरिनु पर्ने बताउनु भयो ।
यस अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय महिला आयोगकी उपसचिव सिता अधिकारीले महिलाहरूका विभिन्न सवालहरूलाई संवोधन गर्ने क्रममा अपाङ्गता भएका महिलाहरूका सवालहरूलाई प्राथमिकता दिएको,कार्यान्वयन लागि सम्बन्धित निकायहरूमा सिफारिस गरिएको बताउँदै सबै निकायका प्रतिनिधिहरू तथा सबै नागरिकहरूले अपाङ्गता भएका व्यक्तिहरूलाई सभ्य भाषामा संवोधन गरिनु पर्ने कुरामा जोड दिँदै आगामी दिनमा अपाङ्गता भएका व्यक्तिहरूका सवालमा काम गर्नको लागि राष्ट्रिय महिला आयोग सहकार्य गर्न तयार रहेको बताउनु भयो ।
नेपाल अपाङ्ग महिला संघले Womankind र Worldwide को सहकार्यमा ललितपुरमा आयोजना गरेको अपाङ्गता र समावेशी विकास सम्बन्धी अन्तरक्रिया कार्यक्रममा ललितपुर महानगरपालिकाकी महिला विकास शाखा प्रमुख शोभा खरेलले आफू आबद्ध महानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूका लागि पहुँचयुक्त संरचना निर्माणका कार्यहरूको थालनी गरिएको,
आफ्नै कार्यालय र्यातम्प राखिएको, कार्यालय सम्म आउन नसक्ने अपाङ्गता भएका व्यक्तिहरूलाई घरमा नै गएर अपाङ्गता परिचय पत्र प्रदान गरिएको, साझा यातायातसँग सहकार्य गरेर १५ वटा अपाङ्गता मैत्री साझा यातायात सञ्चालन गरिएको, अपाङ्गता मैत्री स्मार्ट शौचालय तथा कुसुन्दीमा लिफ्टयुक्त आकाशे पुल निर्माण गर्न लागिएको बताउनु भयो । साथै उहाँले आगामी दिनमा अपाङ्गता भएका व्यक्तिहरूको तथ्याङ्क राख्ने, व्यक्तिगत सेवाको कार्य विधि तयार गर्ने, सामुदायिक विद्यालयका विद्यार्थीहरू र शिक्षकहरूलाई अपाङ्गताको विषयमा जानकारी दिने लगायतका अति आवश्यक कार्यक्रमहरू सञ्चालन गर्ने बताउनु भयो । साथै उहाँले सबै सरोकारवाला निकायहरूले अपाङ्गता भएका व्यक्तिहरूका सवालहरूलाई संवोधन गर्दै उनीहरूको अर्थ पूर्ण सहभागिता गराउनु पर्ने कुरामा जोड पनि दिनु भयो ।
त्यसै गरी अपाङ्गता अधिकारकर्मी तथा वीर अस्पतालमा कार्यरत कर्मचारी रामप्यारी कार्कीले सबै सरोकारवाला निकायहरू तथा अपाङ्गता भएका व्यक्ति तथा संघ संस्थाका प्रतिनिधिहरूले पनि अपाङ्गता भएका व्यक्तिहरूका विभिन्न विषमा वकालत तथा पैरवी गर्दै जनचेतना जगाउनु पर्ने, अपाङ्गता भएका महिलाहरूका मुद्दाहरूलाई संवोधन गरिनु पर्ने, विभिन्न निकायहरूले व्यवस्था गरेका सेफ हाउसहरू अपाङ्गता मैत्री बनाइनु पर्ने कुरामा जोड दिनु भयो ।
सो कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरूले सबैले अपाङ्गताका सवालहरूलाई प्राथमिकताका साथ आ(आफ्ना कार्यक्रमहरूमा समावेश गरेर अगाडी बढ्नु पर्ने कुरामा जोड दिनु भएको थियो ।