१० फाल्गुन २०८१, शनिबार
ताजा खबर

नेपाली पर्यटकलाई दिएको अन अराइभल भिसाको व्यवस्था पुनस्थापनाका लागि राजदूतसँग ढकालको आग्रह

नागरिक पोष्ट

बिहीबार, १८ आश्विन २०८०

6967 views

6967 views

काठमाडौँ  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपालका लागि गणतन्त्र इन्डोनेशियाका राजदूत हेरु हार्तान्तो सुबोलोबिच महासंघको सचिवालय, टेकू, काठमाडौँमा बुधबार भेटवार्ता सम्पन्न भएको छ । भेटका अवसरमा दुई देशबिच आपसी सहकार्य, व्यापार अभिवृद्धि र जनस्तरसम्म सम्बन्ध विस्तारबारे छलफल भएको छ ।

उक्त अवसरमा अध्यक्ष ढकालले इन्डोनेशिया सरकारले नेपाली पर्यटकलाई दिएको अन अराइभल भिसाको व्यवस्था पुनस्थापनाका लागि पहल गरिदिन राजदूतसँग आग्रह गर्नुभएको छ । इन्डोनेशियाले कोभिड महामारीदेखि नेपालीहरुलाई दिँदै आएको अन अराइभल भिसा रोकेको थियो । नेपालका लागि गणतन्त्र इन्डोनेशियाका अवैतनिक वाणिज्यदूत समेत रहेका ढकालले नेपाल र इन्डोनेशियाबिच व्यापार अभिवृद्धि गर्न नेपालबाट हुने निर्यात बढाउन सहजीकरणका लागि राजदूतलाई आग्रह समेत गर्नुभएको छ ।

उक्त अवसरमा राजदूत सुबोलोले अध्यक्ष ढकालले उठाउनुभएका विषयमा आफूले सक्दो सहयोग गर्ने र यसकालागि इन्डोनेशिया सरकारसँग कुराकानी गर्ने बताउनुभएको छ । उहाँले नेपाली पर्यटकलाई दिइएको अन अराइभल भिसाको सुविधा पुर्नस्थापनाका लागि आफूले पहल गर्ने समेत बताउनुभयो । उहाँले नेपाली व्यवसायीले इन्डोनेशियामा धेरै वस्तुहरु निर्यात गरिरहेको बताउँदै थप निर्यातका लागि आफूले सहजीकरण गर्ने समेत बताउनुभयो । नेपाल र गणतन्त्र इन्डोनेशियाबिच सुमधुर कुटनैतिक सम्बन्ध रहेको छ ।

दुई देशबिचको व्यापारिक सम्बन्ध पनि बढ्दो क्रममा रहेको छ । नेपालले कार्पेट, चिया तथा टेक्टटाइल जस्ता वस्तुहरु इन्डोनेशियामा निर्यात गर्छ भने इन्डोनेशियाबाट पाल्म आइल, मसिनरी र इलेक्ट्रोनिक्स सामग्रीहरु आयात गर्ने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?