आईतवार, २१ पुष २०८१
1089 views
1089 views
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक धुम्बाराहीस्थित स्मार्ट दरबार बैङ्क्वेटमा सुरु भएको छ ।
आइतबार सुरु बैठक सोमबारसम्म चल्नेछ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्ने राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनमा छलफल हुने तालिका छ ।
यस बैठकमा दुई कार्यकाल उपराष्ट्रपतिको भूमिकामा रहेका नन्दकिशोर पुन ‘पासाङ’ पनि सहभागी भएका छन् ।
उनलाई माओवादीले उपाध्यक्षको हैसियतमा फेरि इन्ट्री गराएको हो । ‘पासाड’लाई उपाध्यक्षको रुपमा आमन्त्रण गरेर मञ्चको अघिल्लो भागमा अध्यक्ष प्रचण्डसँगै राखिएको छ ।
मञ्चको अघिल्लो भागमा अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ, पासाङ, पम्फा भुसाल र अग्नि सापकोटा बसेका छन् ।
पासाङ यसअघि बिहीबार पहिलो पटक माओवादीक स्थायी समितिमा भाग लिन पुगेका थिए । उपराष्ट्रपतिबाट विश्राम पाएपछि उनी माओवादीको राजनीतिमा सक्रिय हुँदै बैठकमा भाग लिन पुगेका थिए ।
आइतबारको बैठकमा अध्यक्ष दाहालले ‘पार्टी रुपान्तरण र पुननिर्माणको सङ्कल्पः आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दैछन् ।
यो बैठकको सुरुमा दाहालले पछिल्लो राजनीतिक परिस्थितिबारे ‘ब्रिफिङ’ गर्दैछन् । त्यसपछि प्रदेश अध्यक्षहरूले बोलेर प्रतिवेदनमाथि छलफल थालिनेछ ।
केन्द्रीय समिति बैठकमा ४ सय ९ पूर्ण केन्द्रीय सदस्य, २ सय ५ वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगका ७५ तथा सात भौगोलिक र तीन गैरभौगोलिकसहित १० प्रदेशका १ सय २५ जना गरी ८ सय १४ जना नेता-कार्यकर्ता सहभागी छन् ।