सोमबार, १० मंसिर २०८१
1769 views
1769 views
पर्सा । ‘क्याथ ल्याब मेसिन’ जडान गर्ने स्थानको अभावमा नारायणी अस्पताल वीरगञ्जमा उपकरण थन्किएको छ ।
मुटुको शल्यक्रिया लगायतका उपचारमा प्रयोग हुन सो उपकरण सञ्चालनमा नल्याउँदा बिरामीलाई अन्यत्र रिफर गर्नुपरेको जनाइएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक निजी आपूर्ति कम्पनी मार्फत २०७६ चैत मा चार करोड ९२ लाख १० हजार मूल्य पर्ने क्याथ ल्याब मेसिन अस्पताललाई आपूर्ति गरेको थियो । तर अस्पताल प्रशासनले भने मेसिन राख्ने भवनको अभाव देखाउँदै हालसम्म पनि जडान हुन सकेको छैन ।
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. चुमनलाल दासले सघन सहरी तथा भवन निर्माण कार्यालयले गत २०७८ सालदेखि क्याथ ल्याब राख्ने भवन निर्माण गर्दै आइरहेको बताए । ‘कार्यालयले आगामी पुस महिनाभित्रै क्याथ ल्याब राख्ने भवन निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने कुरा गरिरहेको छ,’ उनले भने, ‘क्याथ ल्याब मेसिन धेरै समय अघि अस्पतालमा आइसकेको छ । भवन तयार हुने बित्तिकै जडान गर्ने प्रक्रिया अघि बढाउनेछौँ।’
मेसु दासले क्याथ ल्याब जडानसँगै प्राविधिक जनशक्ति तयार पारेर यस वर्षभित्रै क्याथ ल्याब सञ्चालन गर्ने दाबी गरे ।