शुक्रबार, ३० कार्तिक २०८१
1497 views
1497 views
काठमाडाैं, ३० कार्तिक । शुक्रबारदेखि नेपालले बङ्गलादेशमा बिजुली निर्यात शुरू गरेको छ । आज परराष्ट्र मन्त्रालयमा भएको संयुक्त भर्चुअल माध्यमबाट ऊर्जा मन्त्री दीपक खड्का, भारतका विद्युत् मन्त्री मनोहरलाल खट्टर र बङ्गलादेशका ऊर्जा जलस्रोत मन्त्रालयका सल्लाहकार मोहमद फजुल कबिरले बङ्गलादेशमा बिजुली निर्यातको औपचारिक शुरूवात गरेकाे हुन्।
यसअघि नेपालले भारतमा मात्रै बिजुली निर्यात गर्दै आएकोमा अब तेस्रो देशमा पनि निर्यात शुरू भएको छ ।भारतको केन्द्रीय विद्युत् प्राधिकरणले अनुमति दिएसँगै भारतको बाटो हुँदै नेपालको बिजुली बङ्गलादेशमा निर्यात हुन थालेको हाे।
त्रिदेशीय सम्झौता अनुसार नेपालले जुन १५ तारिखदेखि नोभेम्बर १५ तारिखसम्म ४० मेगावाट बिजुली बङ्गलादेश निर्यात गर्नेछ ।
नेपाल विद्युत् प्राधिकरणले प्रतियुनिट ६ दशमलव ४ सेन्ट अमेरिकी डलर अर्थात् झन्डै आठ रुपैयाँ ६४ पैसाका दरले बङ्गलादेशलाई बिजुली निर्यात गर्ने सम्झौतामा उल्लेख छ।