शुक्रबार, ३० कार्तिक २०८१
2908 views
2908 views
काठमाडौं । नेपाल मेडिकल कलेजमा अन्तराष्ट्रिय प्याथोलोजी दिवस मनाइएको छ । प्रत्येक वर्ष नोभेम्बर महिनाको दोश्रो बुधबार विश्वभर ‘प्याथोलोजी डे’ मनाईने गरिन्छ । नेपाल मेडिकल कलेजले आज विशेष कार्यक्रम नै गरी प्याथोलोजी डे मनाएको हो । सो अवसरमा एक कार्यक्रमका विच सहभागीहरुले केक काटेर एकापसमा शुभकामना आदानप्रदान समेत गरेका छन् ।
कलेजका आयोजित कार्यक्रममा बोल्दै कलेजका अध्यक्ष प्राध्यापक डाक्टर जैनुद्धिन अन्सारीले स्वास्थ्य क्षेत्रमा प्याथोलोजीको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो । कुनैपनि रोगको पहिचान गर्न तथा सहि उपचार गर्नका लागि प्याथोलोजीको योगदान रहने चर्चा गर्दै अध्यक्ष प्रा.डा. अन्सारीले भन्नुभयो,‘हामीले पढ्ने बेलामा प्याथोलोजी भन्ने थिएन । त्यसपछि एउटा नोवल आयो, त्यसलाई अध्ययन गरेपछि मात्र प्याथोलोजीको महत्व थाहा भयो । त्यसपछि प्याथोलोजी डिपार्टमेन्ट भयो । त्यसअघि प्याथोलोजी ल्याब भन्थ्यौं । यो एकदमै महत्वपूर्ण विषय हो डायग्नोष्टिकका लागि । प्याथोलोजी विना रोग पहिचान हुन सक्दैन, डाक्टरको महत्व नै रहँदैन ।’ अध्यक्ष प्रा.डा. अन्सारीले कलेजको प्याथोलोजी विभागलाई प्रभावकारी बनाउन प्रशासन तयार रहेको बताउँदै आवश्यक सहयोग र सहकार्य गर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै कलेजकी प्रबन्ध निर्देशक डा. साविहा यासमिनले प्याथोलोजी डेको अवसरमा शुभकामना दिँदै प्याथोलोजी विभागको महत्वको विषयमा चर्चा गर्दै विभागको सेवा र गुणस्तर सुधार गर्न र प्रभावकारी बनाउन अस्पता प्रशासन सदैव सकारात्मक रहेको बताउनु भयो । प्याथोलोजी विभागले गर्ने विभिन्न कृयाकलाप र प्याथोलोजी विभागको महत्वलाई सबैलाई बुझाउन गरिने कार्यक्रमहरुलाई सहयोग गर्न प्रशासन तयार रहेको जिकीर गर्नुभयो ।
कार्यक्रममा कलेजका प्रिन्सिपल प्रा.डा. मोदनाथ मरहठ्ठाले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन प्याथोलोजी विभागको योगदान रहेको चर्चा गर्नुभयो । भने, प्याथोलोजी विभागकी प्रमुख प्रा.डा. सुजता पुडासैनीले प्याथोलोजी डेको बारेमा चर्चा गर्नुभयो ।
सो अवसरमा कलेज प्राङ्गणमा रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो । पछिल्लो समय देशब्यापी रुपमा डेङ्गुका बिरामीहरुको संख्या बढिरहेको र रगतको समेत अभाब भएकाले प्याथोलोजी डेको अवसरमा रक्तदान गरिएको विभागकी प्रमुख प्रा.डा. पुडासैनीले बताउनु भयो । कलेजका प्राध्यापक, विद्यार्थी, नर्स तथा अस्पतालमा आएका सेवाग्राहीले रक्तदान गरेका थिए ।