शुक्रबार, २३ कार्तिक २०८१
1344 views
1344 views
काठमाडौं । सर्वोच्च अदालतका दुईजना प्रस्तावित न्यायाधीशहरूबारे सिंहदरबारमा संसदीय सुनुवाइ भइरहेको छ । बिहान ११ बजेदेखि संसदीय सुनुवाइ समितिको बैठकमा प्रक्रिया अघि बढेको हो ।
न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेको सुनुवाइ चलिरहेको छ । विकास, आर्थिक मामिला तथा सुशासन समितिको हलस्थित भवन नम्बर २ को कोठा नम्बर ३०१ मा बसिरहेको बैठकमा दुवै प्रस्तावित न्यायाधीशहरूले कार्ययोजना सांसदहरूलाई सुनाएका छन् ।
यसअघि कात्तिक १४ गते सुनुवाइ गर्ने तालिका थियो । त्यसबेला अड्किएको सुनुवाइ शुक्रबार अघि बढेको हो । सुनुवाइ समितिले गत असोज १५ गते सूचना निकालेर न्यायाधीशहरूविरुद्ध उजुरी मागेको थियो ।
प्रस्तावित न्यायाधीश निरौलाविरुद्ध २ वटा उजुरी छन् । तर पाण्डेविरुद्ध कसैले उजुरी दिएनन् । निरौला उच्च अदालत पाटन र पाण्डे उच्च अदालत तुलसीपुरका मूख्य न्यायाधीश थिए । न्यायाधीशमा अनुमोदन भइसकेपछि निरौला प्रधानन्यायाधीशको रोलक्रममा पुग्ने बताइएको छ ।
निरौला कम्तीमा १२ वर्षसम्म सर्वोच्चमा रहनेछन् । यस्तोमा उनी प्रधानन्यायाधीश हुन सक्नेछन् । उनी टेकप्रसाद ढुंगानापछि प्रधानन्यायाधीश हुने गरी सिफारिस गरिएको हो ।
तलमाथि नभएमा ढुंगाना २०९३ पुस ६ मा ६५ वर्षे उमेर हदका कारण अवकाश जानेछन् । ढुंगाना अवकाशमा गएपछि निरौला २०९३ पुस ६ देखि माघ २५ गतेसम्म प्रधानन्यायाधीश हुन सक्नेछन् ।