७ कार्तिक २०८१, बुधबार

ताजा खबर

क्यानले गर्‍यो नेपाल प्रिमियर लिगको तयारी

नागरिक पोष्ट

शनिबार, १९ श्रावण २०८१

3503 views

3503 views

क्यानले गर्‍यो नेपाल प्रिमियर लिगको तयारी

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग टी–२० फ्रेन्चाइज क्रिकेट प्रतियोगिता आयोजनाको तयारी सुरु गरेको छ । क्यानले शुक्रबार लिगमा प्रतिस्पर्धा गर्ने टोलीको स्वामित्व ग्रहण गर्न सार्वजनिक सूचना प्रकाशित गरेको छ । सूचनाअनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीले १५ दिनभित्र आफ्नो कार्ययोजना प्रस्तुत गर्नुपर्नेछ । लिगमा आफ्नो टोली खरिद गर्न चाहने कम्पनी कानुनी रूपमा नेपालमा दर्ता भएको हुनुपर्ने क्यानले जनाएको छ । विदेशी कम्पनीको हकमा नेपालमा रहेको कम्पनीसँग ‘ज्वाइन्ट भेन्चर’का रूपमा आबद्ध हुनुपर्नेछ । 

 

१५ दिनमा परेका आवेदनको अध्ययनपछि योग्य कम्पनीलाई क्यानले नेपाल प्रिमियर लिग टोलीको स्वामित्व दिनका लागि सम्झौता हुने क्यानका प्रवक्ता छुम्बी लामाले बताए । टोलीको स्वामित्व लिने कम्पनीसँग क्यानले रकम लिनेछ । टोली छनोट भएपछि खेलाडी अक्सनलगायतका बाँकी प्रक्रिया क्यानले अघि बढाउने लामाले बताए । क्यानको कार्यसमितिले नेपाल प्रिमियर लिगको सञ्चालनका लागि सचिव पारस खड्कालाई जिम्मेवारी दिएको छ । 

मंसिर–पुसमा लिग
क्यानले नेपाल प्रिमियर लिग मंसिर–पुसमा आयोजना गर्ने तयारी गरेको छ । त्यसअघि नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत सेप्टेम्बरमा क्यानडामा र अक्टोबरमा अमेरिकामा सिरिज खेल्दै छ । सेप्टेम्बरमा क्यानडा, नेपाल र ओमानबीच एकदिवसीय त्रिकोणात्मक सिरिजमा प्रतिस्पर्धा हुनेछ । अमेरिकाले अक्टोबरमा घरेलु मैदानमा नेपाल र साबिक विजेता स्कटल्यान्डसँग त्रिकोणात्मक सिरिज आयोजना गर्नेछ । सिरिजपछि नेपाल प्रिमियर लिगका लागि समय मिलाउन क्यानले कोसिस गरिरहेको लामाले बताए । क्यानले लिगलाई ६ वटा सहरको नाममा ६ टोलीलाई प्रतिस्पर्धा गराउनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?