१० मंसिर २०८१, सोमबार
ताजा खबर

फलफूल खान विरामी हुनुपर्ने ति दिन

नागरिक पोष्ट

शुक्रबार, ४ श्रावण २०८१

6988 views

6988 views

फलफूल खान विरामी हुनुपर्ने ति दिन

शरद पौडेल
लामाटार ठुलाघर 

काठमाण्डाैँ । आजभन्दा तीसपैतीस बर्ष अगाडिको कुरा हो हाम्रो गाउंमा फलफूल भनेको सिजनल मात्र हुन्थ्यो । त्यो वेला गाउमा पाइने चुत्रो, एसेलु, कही कसैको घर नजिक जंगल भए काफल अलिअलि पाइन्थ्यो । फलफूलमा कसैको घरमा बोट भए सुन्तला, नासपाती, हलुवावेद, कसैकसैको घरमा आंपको रूख पनि हुन्थ्यो तर सवै आंप किरा लागेर झरथ्यो, कतैकतै दारिमको वोट हुन्थ्यो त्यो पनि अमिलोवाला सानासाना दाना, अनि कतै आरूको पनि बोट पाइन्थे ति पनि सवै किराले खाएका र खोटेत्रो लागेका हुन्थे । त्यो वेलाका गाउंले फलफूलहरू यिनै थिए । ति फलफूलहरू लगभग एक महिनाका लागि मात्र हुन्थे । सुन्तला, हलुवावेद दशैपछि पाइन्थ्यो भने अरू सवै असार साउन तिर पाइने फलफूल थिए । आफ्नो घरमा सवै फलफूलका बोट हुदैन थियो, खान मनलागे मौका हेरेर चोर्ने नै हो त्यो वेलाको प्रचलन ।

 

कसैले केरा ल्यायो भने ओहो केरा भनिन्थ्यो । आंपको त के कुरा गर्नु,  मलाइ संझना छ, मेरो एकजना आफन्त तराइमा काम गर्नु हुन्थ्यो । उहां असार साउनमा घर आउदा दुइ टोकरी आंप ल्याउनु हुन्थ्यो । उहांको घरमा पुग्दा हर हर आंपको वास्ना आउंथ्यो । कहिलेकाही लाग्थ्यो यिनीहरू कतै घरमा नभए नि एउटा आंप चोर्नु हुन्थ्यो जस्तो लाग्थ्यो । कतै आंप खान पाए त सिंगै टोकेर कुमबाट आंपको रस झारेर खान कम्ता मज्जा हुदैनथ्यो ति दिनहरूमा । यदाकदा अस्पतालमा बाआमा कुनै विरामी हेर्नजांदा अनार लिएर भेटन जान्थे कहिले काही फुर्सदमा हामी पनि बाअमाको पछि लाग्थेउ । विरामीलाइ दिने क्रममा हामी केटाकेटी भएकाले यसो दुइचार दाना त्यो अनार खांदा स्वर्ग पुगे झै लाग्थ्यो । साच्चनै भन्नुपर्दा त्यो वेला फलफूल खाने भनेको निकै ठूलो कुरा हुन्थ्यो ।

 

अहिले वारैमहिना सवै प्रकारका फलफूलहरू उपलब्ध हुन्छन कसरी हो थाहा छैन । नपाइने भन्ने फलफूल नै छैन आजभोली । गोजीमा पैसा हुनुपर्छ, कुनवेला के फलफूल खान मन लाग्छ सव आइपुग्छ घरमा ।

 

अहिले कहिलेकाही अतीत तिर फर्कन्छु । हाम्रा वाउवाजेले फलफूल खान विरामी हुनु पर्छ बावुनानी हो त्यसै भनेका होइन रहेछन । किनभने त्यो वेला हाम्रो ठाउंमा फलफूलहरू अलिअलि झुलुक्क हुने अनि सकिने रहेछ  । फलफूल हाम्रो शरीरको लागि सवैभन्दा पौष्टिकता पाउने चिज हुदा हुदैपनि खान नपाउंदा कसरी वच्चाहरू र ठूला मानिसहरूमा सन्तुलित अहारा पुग्नु सधैं भात तरकारी मात्र खाएर ।

 

त्यो वेला फलफूल त त्यसै पाइदैन थियो । त्यो वाहेक सवैभन्दा अर्को विडम्वना त वाहुन क्षेत्रीहरूमा रहेको कुसंस्कार थियो । सवैभन्दा पौष्टिकता पाउने कोदो वाहुन क्षेत्रीले खान नहुने, कोदो कुअन्न रे । सवैभन्दा फाइवर भएको मकैको भात, ढिंडो खान नहुने वाहुन क्षेत्रीलाइ लाज हुने रे, गरीवले मात्र खाने अन्न रे ति । भात खांदा मात्र इज्जत रहने यस्ता रूढीवादी र गलत प्रचारबाजीले गर्दा विशेषत हामी उपत्यकाको कांठमा वस्ने बाहुन क्षेत्रीका वच्चाहरू खिनौटा हुने र पुरूषहरू चालिसपचासको उमेरमा नै सत्तरीपचहत्तरको जस्तो अनुहार चाउरी परेको देखिने गर्थ्यो । अहिले संझदा यि सवै कुपोषणको कारणले थियो भन्नेमा म पुगेको छु ।

 

त्यो वेलामा हाम्रो चलन सधैं एकथरी तरकारी मात्र खाने जुन सिजनमा जे उपलब्ध हुन्छ त्यही मात्र खाने । विहान टन्न भात खाने अनि एक्कैचोटी सांझमा मात्र खाने चलन थियो । दाल खान परे चाडवाड र घरमा पाहुना कुर्नुपर्ने अवस्था थियो । मासु खान दशैं, क्षमापूजा, देवाली (देववली) कुर्नु पर्थ्यो ।

 

हिउदमा सागपात तरकारी कम पाइने हुनाले तोरीको साग र रायोको सागलाइ सुकाएर राख्ने चलन थियो । अलिअलि पहेंलो भएको साग भए गुन्द्रुक वनाएर राख्ने र वांकीलाइ सुकाएर राख्ने अनि हिउंदमा त्यही तरकारी खाने चलन थियो । कसैकसैको धेरै वारी भएमा मूला लगाउंथे र मूलाको चाना वनाएर राख्ने र हिउंदमा खाने चलन थियो ।

 

अहिले साच्चिनै भन्नुपर्दा सही खानपानको कारणले गर्दा पैसठीसत्तरीको उमेरमा पनि पुरूषहरू जवान जस्तै देखिन्छन । महिलाहरूमा पनि चालिसपैतालिस वर्षमा रोकिने मासिकधर्म अहिले पचपन्नसाठी वर्षमा पुगेको छ । यि सवैको प्रमुख कारण सन्तुलित अहार याने फलफूलहरूको सहज उपलब्धता, सहज र सही औषधीमूलो र पौष्टिक अहारमा आएको जनचेतना र परिवर्तनले गर्दा हाम्रो उमेरमा वढोत्तरी भएको कुरामा दुइमत छैन । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?