१० मंसिर २०८१, सोमबार
ताजा खबर

डेराः बाध्यता वा रहर

नागरिक पोष्ट

सोमबार, ३२ असार २०८१

4166 views

4166 views

डेराः बाध्यता वा रहर

लामाटार, ललितपुर । मेरो घर ललितपुरको मंगलवजारबाट सिधा पूर्व ६ किलोमिटरको दूरीमा रहेको छ । कस्सेर हिडे पाटन मंगलवजारबाट ४५ मिनेटमा घरको ढोकामा पुगिन्छ तर सधैं कस्सिएर हिडन त सकिदैनथ्यो र ठीक्कसंग हिडे सवाघन्टामा घर पुगिन्थ्यो तर पनि त्यसवेला दुर्गम थियो लामाटार, ललितपुर ।

त्यो वेला अर्थात वि सं २०३८।२०३९ सालको कुरा हो । बाटो पनि राम्रो थिएन । वर्षामा त इटा भट्टाको ट्रकले गर्दा बाटो यतिसम्म विग्रेको थियो कि कलेज पढदा किताव र जुत्तामोजा एउटै झोलामा राखेर मंगलवजारस्थित सुन्धारामा गएर खुट्टा सफा गरेर मोजाजुत्ता लगाएर कलेज जानु पर्थ्यो । वर्षामा भन्नु पर्दा एकदम नै कष्टकर थियो जीन्दगी । त्यति नजिक हुंदा पनि हामीलाइ वाध्यता थियो पाटनमा डेरामा वस्ने ।

मैले पनि २०३९ सालदेखि २०४९ सालसम्म पाटनमा डेरा लिन वाध्य भएं । कहिले गावहाल, कहिले पूर्णचन्डी, कहिले पाटन अस्पताल पछाडि दक्षिणकाली मन्दिर नजिक गरेर ३ ठाउंमा डेरा वसें । यातायात नहुंदा जावो पाटनको मंगलवजारबाट ६ किलोमिटरको दूरीमा रहेको स्थान पनि दुर्गम वनाइएको कारणले ।

त्यसवेला २०३८।२०३९ तिर यदा कदा ट्याक्सी चल्थ्यो लगनखेलबाट लुभू जाने र लुभूबाट लगनखेल जाने ट्याक्सी आयो की चारैतिरबाट छोप्थे चढनै सकिने थिएन । त्यो वेला ७ जना ८ जनासम्म मानिस राखेर एकजनासंग १०।१० रूपैयां असुल गर्थे लुभूबाट लगनखेल र लगनखेलबाट लुभूको लागि ट्याक्सीवालाले । यो क्रम वि सं २०४६ सालसम्म चलिरह्यो ।

इमाडोल, टिकाथली, चागाथली, सानागाउं, विसन्डोल, संखादेवी, चसिडोल, सिरूटार, लुभू, ज्यागटा, डाडाथोक, भालटार, धाराचउर, लामाटार, सिस्नेरी, घिमिरेथोक, विरूवा लगायतका स्थानहरूमा वस्ने हामी कांठका नागरिकहरूले वि सं २०७४ सालसम्म पनि सार्वजनिक यातायातको दशा र पीडा भोगेको विडम्वना हो यो । जव २०७४ सालदेखि साझा वस चल्न थाल्यो त्यस वेला देखि केही राहत पाइएको छ ।

हामीहरूले २०७४ सालसम्म पनि सांझको ६ वजे लगनखेल पुगियो भने गाडी पाइदैन थियो । जता वढी टिप पाउथे उतै दौडिन्थे ड्राइभरहरू । ह्वार्र दौडियो लुभू जाने हो भन्यो हैन अव ग्यारेज जाने भन्थे । वसहरू त्यही हुन्थे, जता धेरै पेसेन्जर देखे उतै जान्थे । मानौ हामी मान्छे नै होइनौ जस्तो थियो । यस्तो गर्दागर्दै समय वित्थ्यो, यता दौडियो उता दौडियो । अनि किंकर्तब्यविमुढ भएर ठिंग उभिन्थेउ, अनि विस्मृत भएर सोच्दथे, लगनखेल छेउछाउ घरभएका गाउंको कसको घरमा अव एकरातको शरणार्थी वन्न जाने भनेर, सधैं यही चिन्ताले र नियतिले सताइ रहन्थ्यो सांझमा लगनखेल पुग्दा । यिनै विवसता र बाध्यताले गर्दा हामी कांठेलाइ पाटनमा डेरा लिन वाध्य थियो ।

सरकारको यस्तो चाल देख्दा सधैं रूनमन लाग्थ्यो, दिक्क लाग्थ्यो, यो मानेमा की यस्तो पनि देश हुन्छ र कतै भन्नेमा । संसार कहांबाट कहां पुगि सके हामी एक्काइसौ सताब्दिका नागरिकहरू, पानी पाउंदा खुसी हुनु पर्ने, वत्ति आउंदा खुसी हुनु पर्ने, वस चढन पाए खुसी हुनु पर्ने अनि राज्यको काम के हो भनेर दिक्क पनि लाग्छ ।

के हामी यिनीहरूको लागि तालि पडकाउन र भोट हाल्न मात्र जन्मिएका हौ त जस्तो पनि लाग्छ कहिलेकाही । यिनीहरूको हामी नागरिकहरू प्रति सुन्ना दशमलब एक प्रतिशत मात्र पनि विवेक भएको भए आज सार्वजनिक यातायातको लागि यति धेरै कष्ट नागरिकले उठाउनु पर्ने थिएन । सार्वजनिक यातायातमा त केही गर्नैपर्दैन विहान ४ वजेदेखि राती १० वजेसम्म सवारी साधन चलाउ । नागरिकलाइ सेवा दिने तिमीहरूको काम हो । यदि धेरै यात्रु भएमा अर्को वसबाट व्यवस्थापन गर, गुन्द्रुक कोचेजै नगर, पहिलो र अन्तिम वस स्टेसनमा वाहेक अरू स्टपमा धेरै वेर नरोक । मनोमानी गरे दन्ड हुन्छ, तिम्रो सुरक्षा राज्यले दिन्छ पनि भन्न नसक्ने पनि राज्य प्रणाली संसारमा कही कतै होला र । देशलाइ सिंगापुर, स्वीटजरलैन्ड वनाउनेहरूलाइ मेरो एउटा मात्र प्रश्न प्रश्न हो यो । साथै मेरो अनुरोध, के अव पनि मैले भोगेको नियति मेरा सन्ततिले पनि भोग्नु पर्ने हो? 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?