बिहीबार, ७ असार २०८१
3962 views
3962 views
लमजुङ । पहिरोका कारण बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । अविरल वर्षाका कारण बेँसीसहर नगरपालिका– ६ खरखरेभीरमा ठूलो ढुङ्गासहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाइका अनुसार खरखरेभीरमा सडक माथिबाट ठूलो ढुङ्गासहित पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सोही बाटोमा पर्ने अक्टोपस झरनामा पानी बढेपछि आवागमन रोकिएको छ ।
हरेक वर्ष वर्षायाममा यो सडक पहिरोले अवरुद्ध हुने गरेको छ । बाढी पहिरोको सबैभन्दा बढी जोखिम रहेको स्थान खरखरेभीर नै हो ।
यहाँ पहिरो नियन्त्रणका निम्ति सङ्घीय सरकारले १६ करोड ४८ लाखको लागतमा आयोजना सञ्चालन गरेको भए पनि त्यो पूरा नहुँदा समस्या भएको छ ।