मंगलवार, २९ जेष्ठ २०८१
7736 views
7736 views
शर्मिला विश्वकर्मा, ललितपुर
खेलकुद सबै नागरिकहरूका लागि अति नै महत्त्वपूर्ण हुन्छ । त्यसैले अन्य नागरिकहरूका साथै विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरूले पनि विभिन्न खेलकुदहरू खेल्दै आएका छन् । यसै क्रममा गत शुक्रवार देखि आइतबार सम्म अर्थात् २५ गते देखि २७ गते सम्म काठमाडौँ महानगरपालिका, सामाजिक विकास विभागले राष्ट्रिय पारा भारोत्तोलन खेलकुद सङ्घको सहकार्यमा २५ र २६ गते काठमाडौँको स्वयम्भूमा शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई सहभागी गराएर नव खेलाडी प्रशिक्षण कार्यक्रमको आयोजना गर्योव भने २७ गते ललितपुरको हिमालयन फिटनेसमा अपाङ्गता भएका नवखेलाडीहरू बिचमा प्रतियोगिता कार्यक्रमको आयोजना गर्योय ।
अपाङ्गता भएका व्यक्तिहरूलाई सहभागी गराएर सञ्चालन गरिएको पारा भारोत्तोलन नव खेला८ प्रशिक्षण तथा प्रतियोगितामा नेपाल भारोत्तोलन संघका राष्ट्रिय प्रशिक्षक सञ्जय कुमार महर्जनले भारोत्तोलन खेल खेल्नका लागि स्वस्थ रहनका लागि मसल र पोषणका विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो । साथै उक्त ३ दिन सम्म अपाङ्गता भएका खेलाडीहरूलाई प्रशिक्षण दिँदै आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने बताउनु भयो ।
त्यसै गरी राष्ट्रिय पारा भारोत्तोलन खेलकुदसंघका महासचिव दुर्गामान तामाङले अपाङ्गता भएका खेलाडीहरूका लागि भारोत्तोलन खेलका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलका नीति नियमहरूका बारेमा प्रस्तुतीकरण गर्दै प्रशिक्षक र प्रतियोगितामा रेफरीको भूमिका निर्वाह गर्नु भएको थियो ।
काठमाडौँ महानगरपालिका, सामाजिक विकास विभागको आयोजना र राष्ट्रिय पारा भारोत्तोलन खेलकुद संघको सहकार्यमा २५ र २६ गते नव खेलाडीहरूलाई प्रशिक्षण र २७ गते गरिएको प्रतियोगितामा शारीरिक अपाङ्गता भएका महिला र पुरुष गरी ४० जना नव खेलाडीहरूको सहभागिता रहेको थियो । जसमा महिला र पुरुष तर्फ ६० के.जी भन्दा मुनी र माथिका खेलाडीहरू बिचमा प्रतियोगिता गरिएको थियो ।
यस प्रतियोगितामा महिला ६० केजी भन्दा मुनीको प्रतियोगितामा मेरुदण्ड पक्षघात अपाङ्गता भएकी महिला रोशनी लामाले प्रथम, शारीरिक अपाङ्गता भएका महिला हुमा गर दितिय र हिउकला साउदले तृतीय स्थान प्राप्त गर्न भयो भने महिलाहरूकै ६० के.जी भन्दा माथिको तौल अन्तर्गत होचा पुड्का अपाङ्गता भएकी महिला सङ्गीता लिम्बु प्रथम, मेरुदण्ड पक्षघात अपाङ्गता भएकी महिला सम्झना वन दितिय र भावना के.सी. तृतीय हुनु भएको थियो ।
६० के.जी भन्दा मुनीको तौल अन्तर्गत पुरुष तर्फ अनीश पुन प्रथम, गिरीराज थापा दितिय र गणेश चौधरीले प्रथम स्थान हासिल गर्न सफल हुनु भयो । पुरुष तर्फकै ६० के.जी. भन्दा माथिको तौल अन्तरगतको प्रतियोगितामा मेरुदण्ड पक्षघात अपाङ्गता भएका व्यक्तिहरू सुपर राईले प्रथम, केश गुरुङले दितिय र हरिबहादुर वि.सी.ले तृतीय स्थान प्राप्त गर्न सफल हुनु भयो ।
यस खेलकुद कार्यक्रममा काठमाडौँ महानगरपालिका, सामाजिक समितिका सदस्य तथा खेलकुद प्रतियोगिताका प्रमुख अतिथि महेश नेपालीले खेलकुदको माध्यमबाट देशको नाम राख्न सकिने भन्दै अपाङ्गता भएका व्यक्तिहरूले पनि यो कार्य सफलता पूर्वक गर्न सक्ने बताउनु भयो । साथै उहाँले खेलकुदमा अपाङ्गता भएका व्यक्तिहरूलाई खेलकुदमा उत्साह प्रदान गर्नका लागि र उनीहरूको खेलकुदको विकासको लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउनु भयो ।
त्यसै गरी आयोजक संस्था काठमाडौँ महानगरपालिका, विकास विभागकी अधिकृत भवानी कपालीले काठमाडौँ महानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूका लागि विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै आएको र खेलकुद मार्फत पनि उनीहरूलाई अगाडि बढाउने उद्देश्यले यो पारा भारोत्तोलन खेलको प्रशिक्षण तथा प्रतियोगिताको आयोजना गरिएको बताउनु भयो । साथै आगामी दिनमा पनि अपाङ्गता भएका व्यक्तिहरूको खेलकुदको विकासको लागि आवश्यक सहयोग गर्ने कुरामा पनि जोड दिनु भयो ।
यस कार्यक्रममा राष्ट्रिय पारा भारोत्तोलन खेलकुद संघका अध्यक्ष टेक बहादुर गुरुङले अपाङ्गता भएका व्यक्तिहरूले सन् २००८ देखि नै एसियन खेलकुदमा सहभागिता जनाउँदै आएको भन्दै अबका दिनमा पनि यो पारा भारोत्तोलन खेलको विकासको लागि, अपाङ्गता भएका व्यक्तिहरूको रुचि अनुसार खेलकुदका कार्यक्रमहरूको आयोजना गरिने बताउनु भयो । साथै उहाँले अब छिटै नै देश व्यापी रूपमा अपाङ्गता भएका व्यक्तिहरूका लागि पारा भारोत्तोलन खेल प्रतियोगिताको आयोजना गरिने र यस प्रतियोगिताबाट छनौट भएका अपाङ्गता खेलाडीहरूलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराइने बताउनु भयो । यसका साथै उहाँले अपाङ्गता भएका खेलाडीहरूको खेलकुदको विकासको लागि राज्य स्तरबाट आवश्यक बजेटको व्यवस्था गर्नु पर्ने कुरामा पनि जोड दिनु भएको थियो ।
पारा भारोत्तोलन प्रतियोगितामा मेरुदण्ड पक्षघात अपाङ्गता भएका खेलाडीहरूमा पुरुष तर्फ सुपर राई र महिला तर्फ रोशनी लामा उत्कृष्ट खेलाडी बन्न सफल हुनु भयो । विजेता खेलाडीहरूलाई नगद पुरस्कार, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।