मंगलवार, ८ जेष्ठ २०८१
13244 views
13244 views
काठमाडौं, ८ जेठ । चालु आर्थिक वर्षको १० महिनामा वस्तु तथा सेवाको आयात करिब ३२ अर्बले घटेको छ । भन्सार विभागका अनुसार साउनदेखि वैशाख मसान्तसम्ममा १३ खर्ब ३ अर्ब ३५ करोड ७० लाख बराबरको वस्तु आयात भएको ।
गत आर्थिक वर्षको सोही अवधिमा १३ खर्ब ३५ अर्ब ३२ करोड रूपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको थियो ।
यस्तै चालु आर्थिक वर्षको १० महिनामा १ खर्ब २६ अर्ब १७ करोड ३५ लाख बराबरको वस्तु निर्यात भएको छ । गत वर्षको यस अवधिमा १ खर्ब ३० अर्ब ९० करोड बराबरको वस्तु निर्यात भएको थियो ।
विभागका अनुसार चालु आवको १० महिनामा रु १४ खर्ब २९ अर्ब ५३ करोड पाँच लाख बराबरको वैदेशिक व्यापार भएको छ । यो अवधिको कुल वैदेशिक व्यापार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा दुई दशमलव ५० प्रतिशतले घटेको हो ।
चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले रु ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख बराबर व्यापार घाटा व्यहोरेको छ । जसमा नेपालले भारतसँग सात खर्ब २९ अर्ब ७० करोड रूपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । भारतबाट नेपालले आठ खर्ब १५ अर्ब ७२ करोडको आयात गर्दा ८६ अर्बको मात्र निर्यात गरेको छ ।
यस्तै नेपालको चीनसँगको व्यापार घाटा रु दुई खर्ब ३८ अर्ब ५५ करोड बराबर रहेको छ ।दश महिनामा चीनसँग रु दुई खर्ब ४० अर्ब ८३ करोड बराबरको आयात हुँदा रु २२ अर्ब ७४ करोड बराबरको निर्यात भएको छ ।
यस अवधिमा नेपालले ८ अर्ब ७९ करोड कराबरको कार्पेट, ६ अर्ब ९१ करोड बराबरको अलैँची र ५ अर्ब ६० करोड रुपैयाँ बराबरको पाम आयल निर्यात गरेको छ ।