८ कार्तिक २०८१, बिहीबार

ताजा खबर

काठमाडौंमा पाँचौँ राष्ट्रिय मह मेला

नागरिक पोष्ट

बिहीबार, २७ बैशाख २०८१

6461 views

6461 views

काठमाडौं । ‘दैनिक एक चम्चा मह सेवन स्वस्थ र दीर्घ जीवन’ भन्ने नाराका साथ बुधबारदेखि राजधानीमा “पाँचौँ राष्ट्रिय मह मेला २०८१” हुँदैछ। मह उत्पादन र खपत बढाउनका लागि व्यापक रुपमा सर्वसाधारणसम्म सूचना प्रवाह गर्ने उद्देश्यले मह मेला आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

स्वदेशी महको बजारीकरण तथा मह उत्पादक किसान, मह बिक्रेता र उपभोक्ताहरू बीचको सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासङ्घको आयोजना र नेपाल मौरीपालक महासङ्घ, नेपाल मौरीपालन केन्द्रीय सहकारी सङ्घ लिमिटेड र व्यावसायिक किट विकास निर्देशनालयको सहआयोजना पाँच दिने मेला आयोजना गरिएको हो ।

नेपाल मौरीपालक महासङ्घका अध्यक्ष सुभाषचन्द्र घिमिरेले मह उत्पादक किसानलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारसँग जोड्न तथा विभिन्न स्रोतका महका बारेमा उपभोक्तालाई परिचित गराउने महोत्सवको उद्देश्य रहेको बताए। व्यावसायिक किट विकास केन्द्रका प्रमुख भोजराज सापकोटाले नेपाली मह विश्वमै उत्कृष्ट हुँदाहुँदै बजार नपाएकाले अहिलेको अवस्थालाई चिर्न महोत्सवले प्रभावकारी भूमिका खेल्ने अपेक्षा रहेको बताए ।

परागसेचन, निर्यातको सम्भावना, खाद्य सुरक्षामा टेवा पु¥याउने मह र यसको उपयोगितालाई सबै सामु चिनाउन महोत्सव आयोजना गरिएको उनको भनाइ छ । नेपाल मौरीपालन केन्द्रीय सहकारी सङ्घ लिमिटेडका अध्यक्ष जानुकादेवी थापाले नेपालमा उत्पादित महको उत्पादन, खपत र निकासीको प्रशस्त सम्भावना भए पनि सरकारले सुविधा र सहुलियतबारेमा पर्याप्त जानकारी दिन नसक्दा यो क्षेत्र अल्मलिएको बताए ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहले महको उत्पादनदेखि व्यावसायिक समस्या समाधानका लागि महासङ्घ सहकार्य गर्न तयार रहेको बताए । मेलामा उत्पादक बिक्रेता र उपभोक्ताहरुलाई एउटै छानामुनी भेट्न सकिने छ । गुणस्तरीय नेपाली महका बारेमा जानकारी लिन दिन मेला महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

मेलामा मह काढ्ने तरिका, महसम्बन्धी सूचनामूलक जानकारी, मौरीपालनका नवीनतम प्रविधिहरूको प्रदर्शनी, मौरीसँग सम्बन्धित सरोकारवालाहरूबीच अन्तरक्रिया तथा गोष्ठी आयोजना हुने आयोजकले जनाएको छ । भीर मौरी, कठौरी मौरीलगायत स्थानीय र रैथाने मौरीहरूको मह प्रदर्शनी तथा बिक्री वितरण हुनुका साथै मौरी र महसम्बन्धी विभिन्न अनुसन्धानमूलक जानकारी प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?