७ कार्तिक २०८१, बुधबार

ताजा खबर

ग्रासरुटमा पुग्ने बजेट बनाउन मन्त्री भगबती चौधरीको निर्देशन

नागरिक पोष्ट

सोमबार, २६ चैत्र २०८०

4183 views

4183 views

ग्रासरुटमा पुग्ने बजेट बनाउन मन्त्री भगबती चौधरीको निर्देशन

काठमाडौं । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगबती चौधरीले जनस्तरमा पुग्नेगरी बजेट बनाउनु पर्ने बताउनु भएको छ । महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता, लैङ्गिक अल्पसंख्यकका सवालमा ग्रासरुटमै कार्यक्रम पुग्नेगरी बजेट निर्माण गर्न मन्त्रालय मातहतका महाशाखाहरुलाई निर्देशन दिनुभएको छ ।

आर्थिक वर्ष २०८१/०८२ को बजेट निर्माण गर्दा विगतको परम्परागत शैलीभन्दा फरक र प्रभावकारी हुनुपर्ने भन्दै मन्त्री चौधरीले मन्त्रालयको बजेट बढाउन आफु लागि परेको बताउँदै महिला, बालबालिका र ज्येष्ठ नागरिक, अपाङ्गताका क्षेत्रमा स्थानीय तहसम्मै पुग्नेगरी कार्यक्रम तयार गर्न निर्देशन दिनुभएको हो ।
मन्त्रालयमा आयोजित प्रि बजेट छलफलमा बोल्दै चौधरीले मन्त्रालयका सबै शाखा प्रमुखलाई बोलाएर जनताको घरदैलोमा पुग्ने बजेट तयार पार्नुपर्ने बताउनु भयो । ‘बजेट भनेको जनताको घरदैलोसम्म पुग्ने हुनुपर्छ । गोस्ठी, सेमिनार जस्ता तारे होटलमा खर्च गर्ने कार्यक्रम नबनाउनुस । दुरदराजमा रहेका जनताले प्रत्यक्ष अनुभव गर्ने बजेट आउनुपर्छ ।’ मन्त्रालयको बजेट सिलिङ बढाउन आफुले पहल गरिरहेको भन्दै चौधरीले कर्मचारीहरुले जनताको भावना बुझेर प्रभावकारी काम गर्नुपर्नेमा जोड दिनुभयो ।

महिलाहरुलाई समुन्नत बनाउन आफुले छोरी आत्मनिर्भर कार्यक्रम ल्याउने तयारी गरेको र त्यसमा अर्थमन्त्री र प्रधानमन्त्रीले समेत चासो राखेको जनाउँदै देशका ७५३ वटै पालिकामा महिला मन्त्रालय पुग्ने जिकीर गर्नुभयो । १ अर्ब ५३ करोडको बजेटले सबै क्षेत्रमा काम गर्न नसकिने भएकोले नयाँ कार्यक्रम तयार पारेको भन्दै मन्त्री चौधरीले महिलाको हक–अधिकार संरक्षण र समतामूलक समाजको निर्माणका लागि विभिन्न कानुनी एवम् नीतिगत प्रयास भैरहेको पनि बताउनु भयो ।

राज्यले न्यायमा महिलाको पहुँच हुन नसक्नुका कारणहरूलाई उजागर गर्दै आवश्यक कानुनी तथा संरचनागत प्रयास गरिएको भन्दै मन्त्री चौधरीले जनताले फरकपन महशुष गर्ने गरि बजेट बनाउन सबै विभागीय प्रमुखलाई निर्देशन दिनुभयो । उहाँले जनताबाट आएका सल्लाह सुझाव, सांसद तथा मन्त्रीहरुबाट आएका योजनाहरुलाई प्राथमिकीकरण गरी बजेट तर्जुमा गर्न निर्देशन दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?